चट्याङबाट २३७ को मृत्यु ,९०८ जना घाइते,झापा, उदयपुर र मकवानपुर जिल्ला उच्च जोखिममा

कोशीमा बढी घटना, लुम्बिनीमा बढी क्षति

मंगलबार, ०६ जेठ २०८२

झापा : नेपालमा पछिल्ला चार वर्षमा चट्याङका १,११८ घटना भएका छन् जसमा २३७ जनाले ज्यान गुमाएका छन् र ९०८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १,६०७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। झापा, उदयपुर र मकवानपुर जिल्ला उच्च जोखिममा रहेका छन् भने कोशी प्रदेशमा चट्याङका घटना धेरै भए पनि लुम्बिनीमा बढी मानवीय तथा भौतिक क्षति भएको देखिएको छ।

कोशीमा २९५ चट्याङका घटनामा ५१ जनाको मृत्यु, ८४ जना घाइते, ३६६ घर प्रभावित र ४२० चौपाया मरेका छन्।

लुम्बिनीमा १८० घटनामा ५४ जनाको मृत्यु, १६५ घाइते, २७६ परिवार प्रभावित र ९८ चौपाया मरेका छन्। अन्य प्रदेशहरूमा पनि उल्लेख्य क्षति पुगेको छ — सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४, र कर्णालीमा २१ जनाको मृत्यु भएको छ।

चट्याङ नेपालमा विपद्बाट जनधनको क्षति पुर्‍याउने दोस्रो ठुलो कारण हो। जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङ बढी पर्छ, जुन समयमा कामकाजी मानिस खुला स्थानमा हुने भएकाले बढी क्षति हुने गरेको छ।

चट्याङबाट हुने ८० प्रतिशत मानवीय क्षति सचेतनाले न्यूनीकरण गर्न सकिने भन्दै सिग्देलले मध्याह्नपछिको समय विशेष सतर्क रहन सुझाव दिए।

हाल उदयपुर, पाल्पा र सुर्खेतमा चट्याङ पूर्व सूचना दिने राडार यन्त्रहरू जडान गरिए पनि ती बिग्रिएर निष्क्रिय छन्।

ती उपकरण मर्मत गरेर पुनः सञ्चालनमा ल्याएमा एक घण्टा अगावै चट्याङको पूर्वानुमान गर्न सकिने सिग्देलको भनाइ छ। साथै, भवन निर्माणमा चट्याङ निवारण उपकरण अनिवार्य गर्ने र स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार