मोरङ : नेपाली काँग्रेसका पुराना योद्धा, इमानदार नेता तथा समाजसेवी खडानन्द नेपालको ८५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ।
लामो समयदेखि अल्जाइमर र मृगौला रोग (किड्नी फेलियर) बाट पीडित नेपालको मोरङको होक्लाबारीस्थित आफ्नै निवासमा निधन भएको हो।
उनको निधनले होक्लाबारी मात्र होइन, सम्पूर्ण काँग्रेस परिवार र स्थानीय समाजमा शोकको छाया छाएको छ।
भोजपुरका मूल बासिन्दा नेपाल पछिल्ला दशकहरूदेखि मोरङको कानेपोखरी–१ होक्लाबारीमा बसोबास गर्दै आएका थिए। उनका पाँच छोरी र एक छोरा छन्। परिवारजन अहिले गहिरो शोकमा छन्।
नेपालको राजनीतिक यात्रा पञ्चायतकालदेखि सुरु भएको थियो। उनले सो समयमा वैदारको जिम्मेवारी सम्हाल्दै स्थानीय शासन प्रणालीमा सक्रिय भूमिका खेलेका थिए।
त्यसपछि उनले गाविस सचिव र सभापतिसम्मको जिम्मेवारी सम्हाल्दै विकास र लोकतान्त्रिक आन्दोलनमा योगदान दिए।
नेपाली काँग्रेसमा लामो समय नेतृत्व गर्दै उनले सभापति उपेन्द्र कुवँरको कार्यकालमा सचिवको भूमिकासमेत निर्वाह गरेका थिए।
विकासप्रेमी नेताका रूपमा परिचित नेपालले स्थानीय विकास कार्यक्रम (LGP/PRG) को समन्वयक भएर ग्रामीण भेगको विकासमा उल्लेखनीय योगदान पुर्याए।
उनले बद्रीनारायण बस्नेत र सुजाता कोइरालासँग काँधमा काँध मिलाउँदै चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
नेपालको राजनीतिक जीवनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको आत्मीय सम्बन्ध विशेष रूपमा चर्चा हुने गर्थ्यो। गिरिजाबाबु होक्लाबारी आउँदा नेपालकै घरमा भोजन गर्ने गर्थे।
सहकर्मीहरूका अनुसार, नेपाल “सिधा प्रश्न सोध्ने, इमानदार र निडर नेता”का रूपमा चिनिन्थे। नुना कोइरालासँग पनि उनको आत्मीय सम्बन्ध रहेको स्थानीयले बताएका छन्।
राजनीतिसँगै नेपाल शिक्षक पनि थिए। होक्लाबारी आएपछि उनले होक्लाबारी उच्च माविमा अध्यापन गर्दै विद्यार्थीहरूमा इमानदारी, आदर्श र कर्तव्यनिष्ठाको भावना रोपेका थिए।
उनी राधाकृष्ण मन्दिर समितिका सचिवका रूपमा पनि धार्मिक तथा सामाजिक कार्यमा सक्रिय थिए। स्थानीयहरू भन्छन्, “उनीजस्तो इमानदार र विकासप्रेमी नेता अब विरलै जन्मिन्छ।”
शनिबार उनको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओढाएर अन्त्येष्टि गरिएको थियो। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पार्टीका सचिव उपेन्द्र कुवँरसहित स्थानीय नेताहरू उपस्थित थिए।
कुवँरले भावुक हुँदै भने, “ होक्लाबारीले एउटा असल नेता, सच्चा काँग्रेस र समाजसेवी गुमायो। उनको कमी कहिल्यै पूरा हुनेछैन।”
प्रतिक्रिया