काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता राजिव ढुगांनाले पार्टीलाई युवामय बनाउन भाषण र नारामा सीमित नबनाई त्यसको सुनिश्चितता पार्टीको विधानमै गर्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस नेतृत्वलाई लक्षित गर्दै भने, “कांग्रेसले मुखले मात्र युवामय भयो भनेर हुँदैन, विधानमै व्यवस्था गर्नुपर्छ। पुरानो क्रियाशीलको २० प्रतिशत सदस्यता ३० वर्षमुनिका युवाका लागि छुट्याउनुपर्छ।”
ढुगांनाले पार्टीको क्रियाशील सदस्यतामा युवा सहभागीता न्यून रहेको तथ्य प्रस्तुत गर्दै भने, “हाल ३० वर्षभन्दा कम उमेर समूहका युवाको क्रियाशील सदस्यता चार प्रतिशत पनि छैन, यसरी नयाँ पुस्ता कांग्रेसप्रति आकर्षित हुने आधार कमजोर बन्दै गएको छ।” उनले युवा पुस्ताको प्रतिनिधित्व बढाउन विधान संशोधनको माग गर्दै केन्द्रदेखि वडासम्मका सबै तहका कार्यसमितिमा ४० वर्षमुनिका युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने बताए।
उनका अनुसार जबसम्म कांग्रेसले आन्तरिक संरचनामा नयाँ पुस्तालाई स्थान दिन सक्दैन, तबसम्म ‘युवामय कांग्रेस’को सपना केवल भाषणमै सीमित रहनेछ। ढुगांनाले १५औँ महाधिवेशनअघि नै यस्तो प्रावधान विधानमा समावेश गर्न आग्रह गरे।
उनले भ्रष्टाचार र प्रवृति सुधारका विषयमा पनि कडा धारणा राख्दै भने, “कांग्रेसले जिरो टोलरेन्स भनेर मात्र हुँदैन, पार्टीको विधानमै स्पष्ट प्रावधान हुनुपर्छ।” उनले भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा परेका पार्टी सदस्यको पद तत्काल निलम्बन हुने व्यवस्था गर्नुपर्ने बताए। साथै, भ्रष्टाचारमा संलग्न व्यक्तिले असुलेको रकमको तीन गुणा तिर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग समेत गरे।
ढुगांनाले देश र पार्टी दुवै गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै, आगामी महाधिवेशन र निर्वाचन तयारीबीच कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने निर्णय अब ढिला गर्न नहुने धारणा राखे। उनका अनुसार जेनजी पुस्ताको सोच र शैलीलाई स्वीकार नगरेसम्म कांग्रेसले परिवर्तन र पुनर्जीवनको बाटो पक्रन सक्दैन।
प्रतिक्रिया