एसईई तयारीका लागि फिदिम नगरपालिकाद्वारा उत्प्रेरणा कक्षा सञ्चालन

शनिबार, २२ कार्तिक २०८२

फिदिम : फिदिम नगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई उत्साह र आत्मविश्वास दिलाउने उद्देश्यसहित ‘उत्प्रेरणा कक्षा’ सञ्चालन गरेको छ । नगरपालिकाले विभिन्न विद्यालयमा पुगेर यो विशेष अभियान सञ्चालन गरिरहेको हो ।

उक्त अभियानमा घुन्सा फाउण्डेसनकी संस्थापक याङजोम शेर्पाले कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै अध्ययनसँगै व्यवहारिक जीवन दृष्टिकोण र प्रभावकारी परीक्षा तयारीका विषयमा प्रशिक्षण दिइन् ।

शेर्पाले विद्यार्थीसँग अन्तरक्रिया गर्दै भनिन्,

“जीवनमा सफलता केवल पढाइमा होइन, व्यवहारिकता र आत्मअनुशासनमा पनि निर्भर हुन्छ । परीक्षा आत्मविश्वासपूर्वक र योजनाबद्ध तयारीका साथ सामना गर्नुपर्छ ।”

उनीले फिदिम माध्यमिक विद्यालय, विद्या बरदान बोर्डिङ स्कुल, सरस्वती मावि चोकमागु, रानिटार मावि रानिटार, र सिद्धदेवी मावि पिपलबोटे लगायतका विद्यालयमा पुगेर विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिइन् ।

नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई एम्बिसन गुरु मार्फत निःशुल्क अनलाइन तयारी कक्षामा सहभागी हुन पनि सुझाव दिइएको थियो ।

अभियानमा फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, जनप्रतिनिधिहरू र शिक्षा विकास तथा खेलकुद शाखाका कर्मचारीहरू समेत सहभागी भएका थिए ।

नगरप्रमुख काफ्लेका अनुसार, यसपटकको उत्प्रेरणा कक्षामा १ सय १८ जना विद्यार्थी सहभागी भएका छन् । विद्यार्थीहरूसँगै अभिभावक र शिक्षकहरूको पनि उपस्थिति उल्लेखनीय रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार