जेन–जी युनाइटेड मोमेन्टको देशव्यापी एकता अभियान कोशीबाट शुरु

प्रहरीदेखि न्यायालयसम्म यस्ता छन् सुधारका मागपत्र

शनिबार, २२ कार्तिक २०८२

झापा : देशभरका युवालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले जेन–जी युनाइटेड मोमेन्टले देशव्यापी एकता अभियान शुरु गरेको छ ।

नयाँ पुस्ताद्वारा सञ्चालित ‘देशव्यापी एकता अभियान’ शुक्रबारदेखि औपचारिक रूपमा शुरु गरिएको हो  । ‘रगत, आँशु र आशाबाट जन्मिएको पुस्ताले अब राष्ट्र एकताको नयाँ अध्याय लेख्नेछ’ भन्ने मूल नारासहित शुरु गरिएको यो अभियानको पहिलो चरण कोशी प्रदेशका जिल्लाहरूमा सञ्चालन हुनेछ ।

अभियानका बारेमा शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । नेपाल पत्रकार महासंघ झापाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अगुवा सागर तामाङले कात्तिक २१ गतेदेखि शुुरु भएको अभियान मंसीर १३ गतेसम्म देशका ७७ वटै जिल्लामा सञ्चालन हुने जनाए ।

अभियान अन्तर्गत पहिलो कार्यक्रम ताप्लेजुङको फुङलिङ बजारमा सम्पन्न भएको थियो । त्यसपछि क्रमशः पाँचथर, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली र सिराहा हुँदै अभियानअघि बढ्ने तामाङको भनाइ छ । कार्यक्रम आगामी मंसीर १३ गतेसम्ममा कोशी प्रदेशका सबै १४ जिल्लामा सम्पन्न गर्ने लक्ष्य आयोजकले लिएको छ ।

कार्यक्रमहरू बिहान ११ बजेबाट शुरु हुनेछन्, जसमा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण एकता ¥याली, त्यसपछि देशभक्ति सभा, नाट्य प्रस्तुति, युवाका छोटा भाषण, र शहीद परिवार तथा घाइतेहरूको अनुभव साझा समावेश गरिनेछ । प्रत्येक कार्यक्रममा शहीदहरूको सम्झनामा दियो–मैनबत्ती बाल्ने र श्रद्धाञ्जलि अर्पण गर्ने सत्र हुनेछ ।

अभियानका प्रतिनिधिहरूका अनुसार दोस्रो चरणमा मधेश प्रदेश (पर्सा), त्यसपछि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगू, डोटी, अछाम र गण्डकी प्रदेशको बागलुङ लगायतका जिल्लामा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिनेछ । छोटो समयमा नै देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य रहेको अभियानले जनाएको छ ।

अभियानका आयोजकहरूले यो कुनै पार्टीगत पहल नभई ‘देश र शहीदहरूको सपना साकार पार्ने साझा नागरिक आन्दोलन’ भएको स्पष्ट गरेका छन् । उनीहरूका अनुसार, अभियानले जात, वर्ग, उमेर र क्षेत्रीय भेदभाव समाप्त गरी ‘हामी सबै एउटै आकाशमुनि जन्मिएका नेपाली हौं’ भन्ने सन्देश फैलाउने लक्ष्य लिएको अभियानकी सहअगुवा अञ्जना राईले बताइन् ।

‘देश कुनै एउटै पुस्ताले मात्र बन्न सक्दैन, देश तब बन्छ जब सबै पुस्ता एकै स्वरमा बोल्छन्’– आफ्ना माग पत्रमा रहेका बुँदा सार्वजनिक गर्दै राईले भनिन्– अभियानले सबै आमा–बुबा, शिक्षक, युवा, अभिभावक र सचेत नागरिकलाई एकताको आवाज उठाउन र नयाँ नेपाल निर्माणमा सहभागी हुन आव्हान गरिएको छ । अभियानकी सह–अगुवा राईका अनुसार राजनीतिक अस्थिरता, भ्रष्टाचार र अविश्वासका कारण विभाजित युवाहरूलाई फेरि एउटै उद्देश्यमा उभ्याउन अभियान शुरु गरिएको हो ।

जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो, तरपछि युवाहरू विभिन्न समूहमा बाँडिए । अब समय एकताको हो– उनले भनिन् । पत्रकार सम्मेलनमा आन्दोलनका क्रममा शहीद भएका र घाइते बनेका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आगामी सबै कार्यक्रममा उनीहरूको परिवारलाई प्रमुख अतिथिको रूपमा राखिने जानकारी दिइयो ।

राष्ट्रिय निकायहरूमा सुधारका मागपत्र

जेन–जी युनाइटेड मोमेन्टले हालै प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र सर्वोच्च अदालतमा सुधारका माग राख्दै औपचारिक पत्र बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

आन्दोलनका प्रतिनिधिहरूले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र डा। सुधा शर्मा गौतमसँग पनि भेटघाट गरी युवाको भविष्य, शहीदको सम्मान र सुशासनबारे छलफल गरेको जानकारी दिइयो ।

प्रहरी जनमैत्री बनोस्

अभियानले प्रहरी संस्थामा अनुशासन, पारदर्शीता र जनमैत्रीपन कायम गर्न माग गरिएको छ । नकारात्मक आचरण, घुस, अत्यधिक बल प्रयोग र अपमानजनक व्यवहार गर्ने प्रहरीमाथि तुरुन्त कारबाही गर्न, जनमैत्री प्रहरी नीति लागू गर्न र प्रहरी साथी कार्यक्रम शुरु गर्न आग्रह गरिएको बताइएको छ ।

नागरिक उजुरीका लागि मोबाइल वा अनलाइन प्रणाली लागू गर्ने, हिरासत र अनुसन्धान प्रक्रियामा सीसीटीभी अनिवार्य गर्ने र इमानदार प्रहरीलाई बढुवामा प्राथमिकता दिने प्रस्ताव समेत गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अख्तियारमा पारदर्शिता र कडाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको पत्रमा उच्च तहदेखि छानबिन शुरु गर्न माग गरिएको बताइएको छ । आन्दोलनका अनुसार राष्ट्रपतिदेखि ठेकेदारसम्म ‘माथिबाट तलसम्म’ छानविन गर्न माग गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अवैध सम्पत्ति प्रमाणित भए तुरुन्त राष्ट्रियकरण गर्न र ढिलाइलाई नैतिक अपराध मान्नुपर्ने माग–पत्रमा भनिएको छ ।

पत्रमा नागरिकले गोप्य रूपमा प्रमाण पठाउन सक्ने मोवाइल एप शुरु गर्न, नयाँ एन्टी–करप्स्न एक्ट र इन्टीग्रिटी कोर्ड लागू गर्न र उच्च अधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्न कानूनी दायित्व कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ ।

१८ वर्षमै उम्मेदवारी दिने अधिकार माग

निर्वाचन आयोगमा बुझाइएको पत्रमा १८ वर्ष उमेर पुगेका युवालाई राष्ट्रिय निर्वाचनमा उम्मेदवारी दिन पाउने अधिकार दिन माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जेन–जी अगुवा सागरले भनेका छन्– अस्ट्रेलिया, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र टर्कीमा १८ वर्षमै उम्मेदवारी दिन सकिन्छ तर नेपालमा २५ वर्ष नपुगी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएकाले त्यसको अन्त्य हुनुपर्छ । ‘आजका १८ वर्षका युवाहरू डिजिटल युगका, शिक्षित र जिम्मेवार छन्, उनीहरूलाई निर्णय प्रक्रियाबाट टाढा राख्नु न्यायोचित छैन’– उनले भने ।

न्याय प्रणालीमा सुधार

सर्वोच्च अदालतमा बुझाइएको पत्रमा न्याय प्रणालीमा पैसा, पहुँच र नातावादको प्रभाव हटाउन माग गरिएको पत्रकार सम्मेलनमा जानकारी  दिइयो । गरीब, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र वञ्चित वर्गका लागि निःशुल्क सरकारी वकिल व्यवस्था लागू गर्न, मुद्दा बारम्बार स्थगन गर्ने प्रवृत्तिमाथि कारबाही गर्न र शुल्क प्रणाली आयअनुसार तोक्ने प्रस्ताव गरिएको छ ।

शहीद र पीडितको सम्मान

आन्दोलनले शहीद र आन्दोलनका घाइतेहरूको औपचारिक सम्मान, सम्बोधन र क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेको छ । त्यसैगरी, महिला हिंसा, बालअधिकार र श्रमशोषणका मुद्दाका लागि सबै प्रदेशमा फास्ट ट्र्याक वेन्च स्थापना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

युवालाई एकतामा जोड्न आँव्हान

जेन–जी युनाइटेड मोमेन्टका प्रतिनिधिहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै ‘यो सरकार जेन–जीको आन्दोलनबाट आएको स्मरण गराएका छन् । सरकारले युवालाई विभाजन होइन, एकतामा जोड्ने अभिभावक बन्नुपर्छ भन्ने माग राखिएको सागरको भनाइ छ । 

आन्दोलनले युवालाई प्रतिस्पर्धाभन्दा एकता र साझा राष्ट्रिय अभियानमा आवद्ध हुन आव्हान गरेको छ । ‘भ्रष्टाचार–शून्य हाम्रो पुस्ताको राष्ट्रिय प्रतिज्ञा हो । शहीदको रगतको सम्मान अब भाषणले होइन, कार्यान्वयनले मात्र सम्भव छ ।’

शान्तिपूर्ण अभियानको प्रतिबद्धता

गतभदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीप्रति दुःख व्यक्त गर्दै अभियानले आफूहरूको उद्देश्य राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउने नभएको स्पष्ट पारेको छ ।
 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार