टाइब्रेकरमा आर्मीलाई हराउँदै एपिएफ फाइनलमा, अब पुलिससँग उपाधि भिडन्त

शनिबार, २२ कार्तिक २०८२

बिर्तामोड : झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि एपिएफले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको सुरुवातदेखि नै दुबै विभागीय टोली आक्रमणमुखी शैलीमा उत्रिएका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा खेलिए पनि दुबै टोलीले गोलका अवसर सृजना गरेका थिए ।

६३ औँ मिनेटमा आर्मीकी चन्द्रा भण्डारीले डिफेन्डर र गोलकिपरबीचको तालमेल बिग्रँदा सहज गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । तर, खेलको इन्ज्युरी समयमा एपिएफकी कप्तान अनिता बस्नेतले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

निर्धारित ९० मिनेटको खेल १–१ बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने आर्मीका विमला बिक र अनिता लम्जेल मात्र सफल भए । आर्मीकी विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् ।

उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब फाइनलमा एपिएफ र नेपाल पुलिसबीच रोमाञ्चक विभागीय भिडन्त कात्तिक २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार