काठमाडौँ : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठक शनिबार राजधानीमा सम्पन्न भएको छ । अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल प्रमुख अतिथि र केन्द्रीय सदस्य तथा संगठन इन्चार्ज राजिव पहारी विशेष अतिथि रहेका थिए ।
बैठकले संगठन सुदृढीकरण, आगामी अभियान र देशको राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तीनवटा महत्वपूर्ण निर्णय गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।
१. सुदन गुरुङको नागरिकता छानबिनको अल्टिमेटम
बैठकले सुदन गुरुङको नागरिकता ‘सक्कली वा नक्कली’ हो भन्ने विषयमा तत्काल छानबिन गरी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
प्रवक्ता पौडेलका अनुसार, यदि सरकारले सो अवधि भित्र छानबिन नगरेमा युवा संघ आफैं तथ्य प्रमाण संकलन गरी प्रहरीमा बुझाउनेछ ।
२. अध्यक्ष ओलीको घर पुनर्निर्माण अभियान
बैठकले हालैको ‘जेनजी आन्दोलन’का क्रममा क्षति पुगेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर पुनर्निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियान तेह्रथुमको आठराईबाट सुरु हुने बताइएको छ । प्रवक्ता पौडेलले भने, ‘यो अभियान पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीकका रूपमा अघि बढाइनेछ ।’
३. ‘जेनजी आन्दोलन’का अराजक गतिविधिविरुद्ध कारबाहीको माग
बैठकले आन्दोलनको नाममा देशभर अराजकता फैलाउने, राज्य सम्पत्ति नष्ट गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
‘राष्ट्र निर्माणका भावनायुक्त युवाहरूसँग सहकार्य हुनेछ, तर अराजकता फैलाउनेहरूलाई कानूनी कठघरामा ल्याउनुपर्छ,’ पौडेलले भने ।
प्रतिक्रिया