भदौ २३–२४ को हिंसा नेपालको इतिहासकै आपराधिक घटना : ढुङ्गेल

शनिबार, २२ कार्तिक २०८२
File Photo

काठमाडौँ : नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भदौ २३ र २४ को घटना नेपालको इतिहासकै आपराधिक घटना भएको बताएका छन्।

नेकपा एमाले दोरम्बा–शैलुङ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित बृहत् युवा भेलामा सम्बोधन गर्दै ढुङ्गेलले सिंहदरबार, सर्वोच्च अदालत र व्यवस्थापिका संसदमा आगो लगाउने काम नेपालीले गर्न नसक्ने दाबी गरे।

उनका अनुसार, “नेपाली झण्डा ओढेर यदि कसैले सिंहदरबारमा आगो लगाउँछ भने वा लागुऔषधको प्रभावमा वा विदेशी पैसाको लोभमा,” ढुङ्गेलले स्पष्ट गरे। उनले भदौ २३ र २४ को घटनामा माओवादी, राजावादी, जेलमा रहेका रवि लामिछानेका कार्यकर्ता, तिब्बती दलाई लामा र अमेरिकी पैसामा चल्ने समूह संलग्न रहेको आरोप लगाए।

ढुङ्गेलले यस घटनालाई आन्दोलन नभएको भन्दै “प्रशासनिक भवन, अदालत, संसद् भवन, राजनीतिक दलका कार्यालय र व्यक्तिका घर जलाउने काम वितण्डा मात्र भएको” भने। उनका अनुसार, तत्कालीन सरकार संवैधानिक नभएकोले एमालेले संसद् पुनर्स्थापनाको मुद्दा उठाएको हो र “संसद् पुनर्स्थापना गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाउने” प्रक्रियामा अग्रसर हुनेछ।

अध्यक्ष ढुङ्गेलले एमालेको आस्था र विचार अझै अडिग रहेको उल्लेख गर्दै पार्टीको बलियो तागतले कसैले हल्लाउन नसक्ने दाबी गरे। साथै, घटनाको निष्पक्ष छानबिनका लागि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवार ठहर गर्नुपर्ने बताए।

उनले देश र जनताको सपना पूरा गर्ने दृष्टिकोण नेकपा एमालेसँग मात्र रहेको भन्दै आगामी दिनमा एमाले फेरि सत्ता र देश निर्माणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार