पाँचथर : पाँचथरमा पहिलोपटक महिलाहरूका लागि स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा आगामी जेठ ९ र १० गते पाँचथर अस्पतालमा दुईदिने निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने जनाइएको छ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार, शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड लगायतका प्रविधियुक्त सेवाहरू पनि उपलब्ध गराइने छन्। उनले जानकारी दिएअनुसार, २ हजार महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य राखिएको छ।
यसअघि फिदिम नगरपालिकाले सञ्चालन गरेको एचपिभी परीक्षणमा करिब एक हजार महिलामध्ये ९८६ जनाको परीक्षण हुँदा ३७ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको थियो। त्यस अनुभवका आधारमा नगरपालिकाले यो वर्ष सेवा विस्तार गर्दै थप प्रविधि र परीक्षण समेटिएको शिविरको आयोजना गरेको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश यादवका अनुसार, यसपटकको शिविरमा महिलासँगै पुरुषहरूको पनि स्तन क्यान्सर परीक्षण गरिनेछ।
नगरपालिकाले परीक्षण शिविरमा सहभागिता जनाउन सबै नागरिकलाई सहभागी हुन आग्रह गरेको छ।
प्रतिक्रिया