रौतहटमा अनुगमनको क्रममा कुटिए औषधि विभागका कर्मचारी

मंगलबार, ०६ जेठ २०८२

रौतहट : भारतीय सीमासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिका–४ मा औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग वीरगंजका कर्मचारीमाथि कुटपिट भएको छ।

अनुगमन टोलीमाथि स्थानीय महिला र पुरुषको समूहले सामूहिक आक्रमण गरी लखेटी–लखेटी कुटपिट गरेका हुन्।

बिभागमा दर्ता नगरी औषधि पसल सञ्चालन गर्दै आएको र प्रतिबन्धित औषधि बिक्री गरेको उजुरीको आधारमा गएको टोलीमाथि कुटपिट भएको हो।

घटनामा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छन्। उनीहरूलाई गौरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

कुटपिटका क्रममा राजपुर गाउँका हार्डवेयर पसलको बोर्ड राखेर औषधि पसल चलाउँदै आएका शेख नेक महम्मदको पसलमा अनुगमन गरिँदै थियो।

घटना क्रमका क्रममा भीडले इन्सपेक्टर रुद्रराज कँडेलको मोबाइलको डिस्प्ले तोडिदिएको र कागजात समेत खोसेको प्रहरीले जनाएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका खरिदार उमेशप्रसाद र प्रहरी इन्सपेक्टर कँडेल पनि सहभागी थिए।

स्रोतका अनुसार औषधि पसल सम्बन्धी उजुरी शेख नेक महमदका दाजुभाइबीचको पारिवारिक विवादकै कारण गरिएको थियो।

रौतहटका सिडियो विनोद कुमार खड्काले विभागका माग अनुसार प्रशासन र प्रहरी प्रतिनिधि अनुगमनमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

स्थानीयको दाबीअनुसार अनुगमनको नाममा साना औषधि पसलहरूलाई मात्रै निशाना बनाउने गरिएको छ।

ठूला मेडिकल व्यवसायीहरूसँग सेटिङ मिलाएर नियमित रकम असुली गर्ने आरोप विभागमाथि छ। ठूला स्टोरहरूमा छापा नपर्ने र साना पसलहरू मात्र अनुगमनको जालोमा पर्ने अवस्था रहेको स्थानीय व्यवसायीहरू बताउँछन्।

विगतमा पनि रौतहटको कटहरिया बजारमा यस्तै घटना दोहोरिएको थियो। यद्यपि, सूचना अधिकारी ओम जयसवालले गृह मन्त्रालयबाट आएको उजुरीको आधारमा अनुगमन गरिएको बताउँदै गाउँमै सेवा दिइरहेको मेडिकल बन्द गराउन नदिने भन्दै स्थानीय महिलाले हातपात गरेको स्वीकार गरेका छन्। विभागका कर्मचारीमाथि भएको कुटपिटप्रति अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार