इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ अनामनगरस्थित प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न खाद्य सामग्री बरामद गरेको छ।
बुधबार अपराह्न करिब ४:३० बजे चेकिङमा खटिएको प्रहरी टोलीले अवैध रूपमा नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक महेन्द्रप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले ८ बोरा (३२० किलो) चिनी, ६ काटुन (१४४ किलो) पानीपुरी, ४ काटुन (३६ पिस) २.५ लिटरको डिउ पेय पदार्थ तथा १ बोरा (३० किलो) मटर बरामद गरेको छ।
बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब ६१ हजार ८६० रुपैयाँ रहेको छ।
उक्त सामग्री भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
बरामद गरिएका सामान इटहरी इलाका प्रहरी कार्यालयमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया