भोजपुर : सरकारले घोषणा गरेको १०० घुम्नुपर्ने पर्यटकीय गन्तव्यमध्ये पर्न गएको मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि चित्रकलाको माध्यम अपनाइएको छ। टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘राष्ट्रिय चित्रकला कार्यशाला’मार्फत चित्रकारहरूले पदमार्गका विशेष पक्षलाई क्यानभासमा उतारेका छन्।
भोजपुरको पर्यटकीय स्थल चखेवामा आयोजित तीनदिने कार्यशालामा २० जना राष्ट्रिय कलाकारले हाब्रे (रेडपाण्डा), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) र स्थानीयको पहिरन जस्ता तत्वलाई चित्रमार्फत अभिव्यक्त गरेका थिए।
कार्यक्रमको आयोजना टेम्केमैयुङ गाउँपालिकाले गरेको हो। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रचारप्रसार र प्रवर्द्धन गर्न कार्यशालाको आयोजना गरिएको हो। साथै, पदमार्गलाई योग तथा ध्यान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको उनले जानकारी दिए।
कार्यशालामा निर्माण गरिएका चित्रहरू आगामी दिनमा काठमाडौँमा प्रदर्शनी गरिनेछ। बुधबार सम्पन्न समापन समारोहमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली प्रमुख अतिथि रहेका थिए। उनले कार्यशालाले पदमार्गको प्रचारप्रसारसँगै कला र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउने बताए।
प्रतिक्रिया