अमेरिका : अमेरिकाको टेक्सास राज्यमा १३ वर्षअघि एक महिलालाई जिउँदै आगो लगाएर हत्या गर्ने दोषीलाई विषाक्त सुईमार्फत मृत्युदण्ड दिइएको छ।
४९ वर्षीय म्याथ्यु ली जोनसनलाई बुधवार हन्ट्सभिलस्थित राज्य कारागारमा सुई दिइयो र साँझ ६ः५३ बजे उनलाई मृत घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्।
जोनसनले २०१२ मे २० मा डलास उपनगर गारल्याण्डस्थित एक स्टोर लुट्ने क्रममा ७६ वर्षीया न्यान्सी ह्यारिसमाथि ज्वलनशील पदार्थ खन्याई आगो लगाएका थिए। केही दिनको उपचारपछि ह्यारिसको मृत्यु भएको थियो।
अदालतमा अपराध स्वीकार गर्दै जोनसनले मादक पदार्थको असरमा रहँदा आफुले के गरे भन्ने सम्झना नभएको दाबी गरेका थिए। मृत्युदण्डअघि उनले पीडित परिवारलाई हेरेर माफी माग्दै घटना दुर्भाग्यपूर्ण भएको बताएका थिए।
अभियोजन पक्षका अनुसार ह्यारिसले पैसा दिन अस्वीकार गरेपछि जोनसनले आगो लगाउने निर्णय गरेका थिए। आगो लागेको अवस्थामा ह्यारिस स्टोरबाट बाहिर निस्किएर सहयोग मागेकी थिइन्।
प्रहरी अधिकारीको सहयोगमा आगो निभाइएको भए पनि शरीरको विभिन्न भाग गम्भीर रूपमा जलेको कारण ह्यारिसको केही दिनपछि मृत्यु भएको थियो।
घटनाको करिब एक घण्टापछि जोनसन पक्राउ परेका थिए। डाक्टर तथा नर्सका अनुसार ह्यारिस मृत्युअघि निकै पीडामा थिइन्।
प्रतिक्रिया