काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको बैठकले ‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागु गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले सबै तहका सरकारले सो मापदण्ड लागू गर्ने निर्णय गरेको हो ।
बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी ठानिएको घरबास (होमस्टे) सञ्चालन मापदण्डलाई सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
यससँगै पहिचान गरिएका पर्यटकीय गन्तव्यको सौन्दर्यकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रदेशका पर्यटन मन्त्री र समितिका सदस्यको उपस्थिति थियो । मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताए ।
प्रतिक्रिया