आगोसँग खेल्दै तीन दशकदेखि मकै पोलेर आत्मनिर्भर जीवन बाँचिरहेकी धरानकी शान्ति

विहीबार, ०८ जेठ २०८२

संगीता राई

सुनसरी : धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठको बिहान शहर नबिउँझँदै सुरु हुन्छ। बिहान सबेरै धरानबाट मोरङको भावन्ने पुगेर मकै किनेर फर्केपछि दिनभर मकै पोलेर बेच्ने उहाँको दिनचर्या विगत ३ वर्षदेखि चलिरहेको छ।

बिहान १०–११ बजेसम्म मकै किनेर फर्केपछि खुलेको आकाशमुनि बसेर दिनभर आगोसँग खेल्दै करिब १६० घोगा मकै पोलेर विक्री गर्नु उहाँको रोजगारी हो।

श्रेष्ठ मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। ठेक्काको रकम ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गरेको र कहिलेकाहीँ दुई–तीन जना मिलेर मकैबारीको ठेक्का लिने गरेको उहाँ बताउनुहुन्छ।

विक्री मूल्य सानो मकैको १५ रुपैयाँदेखि ठूलो मकैको ५० रुपैयाँसम्म हुने गरेको छ। यसबाट मासिक ७०–८० हजार रुपैयाँको कारोबार हुने गरेको छ।

छ वर्षअघि श्रीमानको निधनपछि एकल महिलाका रूपमा श्रेष्ठले आफैं काम सम्हाल्दै घर चलाइरहनुभएको छ। लक्ष्मीचोक नजिकैको गल्लीमा खुला आकाशमुनि बिना सटर मकै बेचिरहनुभएकी श्रेष्ठको दृढता उदाहरणीय छ। 'काम गर्यो भने खानाको अभाव हुँदैन,' उहाँ भन्छिन,'मकै पोलेरै जिन्दगी चलिरहेको छ।'

बुढेसकालको थकान नभनी अझै आत्मनिर्भर जीवन यापन गरिरहेकी श्रेष्ठ भन्छिन्, “मकै बेच्ने काम केवल आम्दानीको स्रोत होइन, आत्मसम्मानको आधार हो।” उहाँको यही श्रम, आत्मविश्वास र समर्पण प्रेरणादायी छ - जसले देखाउँछ, परिश्रम कहिल्यै थकाइ होइन, ऊर्जा र सन्तोषको मूल स्रोत हो।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार