कोशीका पूर्वमुख्यमन्त्री कार्कीको गम्भीर आरोप : ‘प्रहरीकै सहयोगमा राति तस्करी, दिनमा सर्वसाधारणको झोला खोतलिने’

बुधबार, ०७ जेठ २०८२
फाइल तस्बिर

इटहरी : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा बैठकमा सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका छन्। बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा बोल्दै उनले प्रहरीकै मिलेमतोमा सीमा क्षेत्रमा तस्करी भइरहेको दाबी गरेका हुन्।

पूर्वमुख्यमन्त्री कार्कीका अनुसार, सीमावर्ती नाकामा रातिको समयमा सेटिङ मिलाएर ठूला ट्रकमार्फत तस्करीका सामग्री नेपाल भित्र्याइन्छ भने, दिनको समयमा सामान्य नागरिकको दुई किलो चिनीको झोला समेत प्रहरीले खोतल्ने गरेको छ।

कार्कीले आरोप लगाए, “दिउँसो सर्वसाधारणको झोला खोतलिन्छ, राति प्रहरी आफैँ लाइट बालेर तस्करलाई सहयोग गरिरहेको हुन्छ।”

उनले विशेषगरी अरुण सिनेमा अगाडि रहेको डिआइजी कार्यालय नजिकको भत्किएको पर्खाल भएको स्थानबाट प्रहरीकै सहयोगमा तस्करी हुने गरेको दाबी गरे। उनले आफूले प्रत्यक्ष रूपमा यस्तो कार्य देखेकोसमेत जनाए।

गृहमन्त्रीले तस्करी रोक्न निर्देशन दिएको भए पनि त्यो निर्देशन केवल दिनको समयमा सीमित भएको र रातिको समय अझै स्वच्छन्द तस्करी हुने गरेको उनले उल्लेख गरे।

थप आरोप लगाउँदै कार्कीले भने, “गृहमन्त्री बोल्दै गर्दा प्रहरीका एसपी भोला गुड्का चबाउँदै बसेका थिए, तीन जना प्रहरी निरीक्षक र डिआइजीबीच कति पैसा कसलाई दिने भनेर झगडा हुँदा पनि कसैलाई कारबाही हुँदैन।”

प्रहरीले सर्वसाधारणले गल्ती गर्दा तुरुन्त पक्राउ गर्ने तर आफैंले होटलमा झगडा गर्दा, कुटाकुट गर्दा समेत कारबाही नहुने अवस्था रहेको भन्दै उनले प्रश्न उठाए, “प्रहरीले गल्ती गर्दा कसले कारबाही गर्नेरु”

पूर्वमुख्यमन्त्री कार्कीको यो अभिव्यक्तिले प्रदेशभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार