काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिभर देशभर औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ। विभागले आज सार्वजनिक गरेको आगामी चार महिनाको (जेठ १८ देखि असोज १४) मनसुन पूर्वानुमानअनुसार अधिकांश भू–भागमा वर्षा सामान्यभन्दा बढी हुने देखिएको छ।
विभागका महानिर्देशक कमलराम जोशीका अनुसार कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ५५–६५ प्रतिशत रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकीको उत्तर–पूर्वी भाग तथा बागमती र कोशी प्रदेशको उत्तरी भागमा ४५–५५ प्रतिशत सम्भावना रहेको छ।
मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा भने वर्षा सरदर आसपास रहने (३५–४५ प्रतिशत सम्भावना) देखिएको छ। देशका बाँकी भू–भागमा पनि सरदरभन्दा केही बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
तापक्रमसम्बन्धी प्रक्षेपण
अधिकतम तापक्रम:
देशभर अधिकतम तापक्रम औसतभन्दा माथि रहने देखिएको छ। विशेषतः सुदूरपश्चिमको उत्तर–पूर्वी भाग, कर्णालीको उत्तरी क्षेत्र, लुम्बिनीको उत्तरी भाग, गण्डकीको पश्चिमी भू–भाग, मधेशको पश्चिमी भू–भाग र बागमतीको मध्य भागमा अधिकतम तापक्रम ५५–६५ प्रतिशत सम्भावनासहित बढी रहनेछ।
न्यूनतम तापक्रम:
कर्णाली, बागमती, लुम्बिनीको मध्य भाग, मधेशको पश्चिमी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी (५५–६५ प्रतिशत सम्भावना) हुने प्रक्षेपण गरिएको छ। अन्य केही क्षेत्रहरूमा पनि ३५–५५ प्रतिशत सम्भावनासहित न्यूनतम तापक्रम सामान्यभन्दा उच्च हुने देखिएको छ।
प्रक्षेपणको आधार
विभागले उक्त आँकलन विश्व मौसम संगठनको क्षेत्रीय र विश्वव्यापी मौसम सूचना केन्द्रहरूले विकास गरेका जलवायु प्रारूप तथा दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्चद्वारा तयार पारिएको विश्लेषणका आधारमा गरेको जनाएको छ।
प्रतिक्रिया