इटहरी : इटहरीमा आर्थिक अपराध अन्तर्गतका बैङ्किङ कसुर र ठगीसम्बन्धी मुद्दाहरूमा कमी आएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिमा यस्ता मुद्दा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेका छन्।
गत आर्थिक वर्ष २०८०.८१ मा बैङ्किङ कसुरका १८१ र ठगीसम्बन्धी ८२ वटा मुद्दा दर्ता भएका थिए। तर, चालु वर्षको श्रावणदेखि वैशाखसम्म बैङ्किङ कसुरका जम्मा ८१ र ठगीका १९ मुद्दा मात्रै दर्ता भएका छन्।
महिनावारी विवरण अनुसार, बैङ्किङ कसुर सबैभन्दा धेरै भदौ (१७) र फागुन (१२) मा रेकर्ड भएको छ भने ठगीसम्बन्धी मुद्दा अधिकांश मङ्सिर (५) मा दर्ता भएको देखिन्छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले आर्थिक अपराध घट्नुको प्रमुख कारण स्थानीयवासी र व्यवसायीहरूमा वित्तीय साक्षरताको विकास, आर्थिक कारोबारमा बढ्दो सतर्कता र प्रहरीद्वारा सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम रहेको बताए।
उनका अनुसार, सामुदायिक प्रहरी साझेदारी, वित्तीय सचेतना अभिवृद्धि कार्यक्रम र अनलाइन ठगीविरुद्धको सक्रियता इटहरीमा आर्थिक अपराध नियन्त्रणमा प्रभावकारी सिद्ध भएको छ।
डिएसपी भण्डारीले इटहरीमा आर्थिक अपराधमा आएको गिरावटलाई सकारात्मक सङ्केतको रूपमा व्याख्या गर्दै, समुदायमा अनुशासित कारोबारको संस्कृति विकास हुनु र प्रहरीले अपनाएको सक्रिय नीतिका कारण यस्तो परिणाम सम्भव भएको उल्लेख गरे।
प्रतिक्रिया