प्रेस चौतारीको १०औं महाधिवेशन एमालेका महासचिव पोखरेलले उद्घाटन गर्ने

आइतबार, १० चैत्र २०८१
विराटनगर : नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु हुँदैछ। विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गर्नेछन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने योजना थियो। तर, अन्तिम समयमा ओली अनुपस्थित हुने भएपछि महासचिव पोखरेलले उद्घाटन गर्ने भएका छन्। पोखरेल विराटनगर आइसकेका छन्। चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन्। हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर चौतारीको अध्यक्ष बन्ने दौडमा होमिएका हुन्। राई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् भने पाण्डे सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा छन्। स्रोतका अनुसार ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएका छन्, तर बहुसंख्यक प्रतिनिधिहरू निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन्। सचिव लुइँटेलले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरिने बताए। ‘भरसक सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ, तर त्यो सम्भव नभए निर्वाचन प्रक्रियाबाट अघि बढ्नेछ,’ उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार