अध्यागमनमा अख्तियारको ‘स्टिङ अपरेसन’,गृहमा विवादित कर्मचारी

मंगलबार, १३ जेठ २०८२

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा करोडौं रुपैयाँ घुस असुल गरेपछि ‘स्टिङ अपरेसन’ गर्नुपरेको बताएको छ।

अध्यागमन कार्यालय पुगेका सहसचिव तीर्थराज भट्टराईले अख्तियारका नाममा करोडौं रुपैयाँ घुस असुलेको निष्कर्षमा आयोग पुगेपछि छानबिन अगाडि बढेको हो। ‘अख्तियारका नाममा घुस असुलेको अडियो आयो। त्यसका लागि छुट्टै मोबाइल नम्बर प्रयोग गरेको पाइयो। त्यसपछि स्टिङ अपरेसन गरिएको हो। अहिलेको अप्रेसनले गृह मन्त्रालयका केही कर्मचारीलाई पनि अनुसन्धानमा तानेको छ,’ अख्तियार स्रोतले भन्यो।

अख्तियारका अनुसार उनले दोस्रो व्यक्तिका नाममा सिमकार्ड निकालेर ट्राभल एजेन्सीलाई मात्र दिएका थिए। त्यही मोबाइल नम्बरबाट गतिविधि सञ्चालन गर्ने गरिएका थियो। ग्रिनाइन होलिडेज ट्राभलका बालकृष्ण खड्काले ह्वाट्सएपमा सूची पठाउने गरेका थिए।

उनले पठाएको सूचीअनुसार असुल गरिएको रकम कविता पौडेलको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको छ। साथै भक्तपुरका खगेन्द्र सुवेदीले पनि सो रकम परिचालन गर्ने तथा सहसचिव भट्टराईले निर्धारण गरेका व्यक्तिलाई पठाउने गरेका थिए। ‘सुवेदीले नै गृह मन्त्रालयका कर्मचारीलाई रकम बाँडफाँट गरेको पाइयो,’ स्रोतले भन्यो।

गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो संलग्नता नभएको बताइसकेका छन्। आफ्नो सचिवालयमा रहेका कर्मचारी र उनको स्वकीय सचिव जनक भट्टले रकम बार्गेनिङ गरिहेको समाचार सार्वजनिक भएका कारण मन्त्री लेखकलाई अप्ठ्यारो परेको छ।

यसैलाई आधार मानेर उनीमाथि औंलो ठड्याउने काम भएको छ। ‘गृहमन्त्रीज्यूले आफू संलग्न छैन भन्नुभएको छ तर गृहको प्रशासन महाशाखाले नै त्यहाँ कर्मचारी पठाउने गरेको छ। तिनै प्रशासन महाशाखाका छवि रिजाललाई विज्ञप्ति जारी गर्न लगाइएको छ, जो अख्तियारको राडारमा समेत परेका छन्,’ अख्तियार स्रोतले भन्यो।

विमानस्थलबाट भिजिट भिसाका नाममा मानव तस्करी हुने क्रम नयाँ होइन। ट्राभल एजेन्सी, म्यानपावर व्यवसायी र तिनका एजेन्ट, गृह मन्त्रालयका कर्मचारीमार्फत पटकपटक मानव तस्करी हुने गरेको छ। गृह मन्त्रालयमा सचिव, कर्मचारी प्रशासन महाशाखाका प्रमुख र अध्यागमन कार्यालयहरूमा कर्मचारी पठाउने काम पिरामिड शैलीमा हुने गरेको छ।

गृह मन्त्रालय कहिल्यै नटेकेका सचिवलाई त्यहाँ पठाउने, भूमि सुधार, नापी तथा शिक्षा मन्त्रालयमा लामो समय काम गरेका र गृहको पुनर्संरचना नबुझेका सचिवलाई पठाउने तथा सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारी ९सिडिओ० बनाएर पठाउने भूमिका पनि सेटिङमा हुने गरेको छ। सेटिङमै आएका टेकनारायण पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन्।

सिन्धुपाल्चोकमा एक प्रमुख जिल्ला अधिकारी भएर गृहबाट बाहिरिएका गोकर्णमणि दुवाडी हाल गृह सचिव छन्। उनकै मातहतमा रहेको अध्यागमन कार्यालयमा प्रमुखमा तीर्थराज भट्टराई पुगेका थिए। भट्टराई पनि गृहमा लामो समय बसेका कर्मचारी होइनन्। उनी सिडिओ हुँदा पनि विवादमा आएका कर्मचारी हुन्। यो विषयमा गृहसचिव दुवाडीमाथि पनि प्रश्न उठेको छ।

गृहमा विवादित कर्मचारी 

विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामार्फत सेटिङमा मानव तस्करी भइरहनुमा गृह मन्त्रालयले विवादित कर्मचारीलाई परिचालन गरिरहनु पनि हो। भिजिट भिसामार्फत मानव तस्करीमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता नदेखिए पनि उनको सचिवालयमा रहेका सदस्यहरू भने विवादित बनेका छन्। उनको सचिवालय विवादित व्यक्ति हटाएर अनुसन्धान थाल्नुपर्ने माग भइरहेको छ।

मन्त्री लेखकको सचिवालयमा रहेका बद्री तिवारी, गणेश ओझा र विमल पौडेल मात्र होइन, राजनीतिक नियुक्ति लिएका जनक भट्टसम्म विवादित पात्र हुन्। स्वकीय सचिव भट्टको अश्लील भिडियोसमेत सार्वजनिक भएको थियो।

मन्त्री लेखक श्रममन्त्री हुँदादेखि नै साथमा रहेका बद्री तिवारी गृहमा पनि पुगेका हुन्। भिजिट भिसाको सेटिङमा श्रमका कर्मचारीहरूको पनि मिलेमतो हुने गरेको छ। ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि भ्रष्टाचार मुद्दा लागेको अख्तियारको ‘रेकर्ड’ मा देखिन्छ।

अख्तियारले २०७४र७५ मा ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीको ठेक्कामा कार्यपालिकाबाट निर्णय गराएर राजस्व छुट दिएको आरोपमा गाउँपालिकाका अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ५४ लाख १८ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा छुट दिइएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको थियो। उनको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

मन्त्री लेखकले मन्त्रालयका महत्वपूर्ण विभागमा र महाशाखा जिम्मेवारी दिएका विवादित सहसचिवका कारण पनि अहिले उनीमाथि प्रश्न उठाउनेलाई बल पुगेको छ। विवादित पृष्ठभूमिका सहसचिव तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिँदा उनी भिजिट भिसाको सेटिङमा लागे। त्रिपाल खरिद घोटालामा मुद्दा खेपेका सहसचिव भट्टराईलाई विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत बनाएर पठाइएको थियो।

संदिग्धलाई सकुशल बिदाइ  

त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको दुरूपयोग मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्न रोक लगाइएका व्यक्तिहरू सहजै पार हुने गरेको खुलेको छ। तीन महिना पहिला दुई भारतीय नागरिक बिनारोकटोक कालोसूचीको पासपोर्ट प्रयोग गरेर उडेका थिए। उनीहरू भारतीय प्रहरीको ‘मोस्ट वान्टेट’ सूचीमा थिए। 

कालोसूचीमा रहेकाहरू तेस्रो मुलुक पुगेपछि मात्रै अध्यागमन विभागले थाहा पाएर विमानस्थल कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई स्पष्टीकरण सोधेको थियो। ‘तीन महिनापहिले दुई भारतीय नागरिकलाई दुबई उडाएको पाइयो। उनीहरूको पासपोर्ट कालोसूचीमा थियो। भारत सरकारले खोजी गरिरहेको र नेपाल प्रहरीसँग सहयोग मागिरहेको अवस्थामा उनीहरू नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको सूचना सत्य थियो,’ अध्यागमन विभागका एक कर्मचारीले भने।

त्यसबेला भट्टराईमाथि छानबिन गरिएको थियो। ती व्यक्तिहरू भारतमा अपराध गरी नेपाल आएका थिए। उनीहरूलाई भारतीय प्रहरीले खोजी गरिरहेको थियो। तर मन्त्रालयले त्यसलाई गम्भीर रूपमा नलिएको पाइएको छ। ‘अन्तर्राष्ट्रिय रूपमै कालोसूचीमा परेकाहरूले नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको र त्यसलाई रोक्न नसक्ने अध्यागमन कार्यालयका प्रमुखलाई माफी किन दिइयो भन्ने प्रश्न गम्भीर छ,’ विभागका ती अधिकारी भन्छन्। 

तर यो विषयमा विभागका कुनै पनि अधिकारीहरू बोल्न चाहन्नन्। गृहका सहायक प्रवक्ता रवीन्द्र आचार्यले सो विषयमा आफूलाई जानकारी नभएको बताए। उनले त्यसबारे कर्मचारी प्रशासनलाई जानकारी हुन सक्ने बताएका थिए। कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजालसँग सम्पर्क गर्न खोज्दा हुन सकेन। 

त्यसबेला भट्टराई सर्भरमा समस्या आएको देखाएर उम्केका थिए। कालोसूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालोसूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए। तर स्रोतका अनुसार त्यस दिन सर्भरमा कुनै समस्या थिएन। 

उनलाई माथिल्लो तहबाटै संरक्षण रहेका कारण विमानस्थलमै फिर्ता गरिएको थियो। ‘त्यतिबेला कुनै पनि कारबाही गरिएन। अहिले पनि भिजिट भिसा दुरूपयोगमा जोगाउने प्रयास भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने। ती अधिकारीका अनुसार भट्टराईले विमानस्थलमा एक पटक मात्र होइन, पटक पटक कमजोरी गर्दै आएका थिए। मन्त्रालयमा तानिनुअघि पनि अध्यागमन विभागले उनलाई स्पष्टीकरण सोधेको थियो।

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार