इटहरीका फोटो पत्रकार र उनकी श्रीमतीलाई घरमै खुकुरी आक्रमण, फोटो पत्रकार महासङ्घद्वारा निन्दा

सोमबार, १० कार्तिक २०८२
पत्रकारको घरभित्र छिरेर आक्रमण गर्ने आक्रमणकारी मध्ये अमरजित कुमार सिंह र नेपाल फोटो पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिद्वारा जारी विज्ञप्ति

इटहरी : नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिका सदस्य तथा प्रशिक्षक विशप ताम्राकारमाथि अराजक समूहले ज्यान मार्ने उद्देश्यसहित घरमै आक्रमण गरेको छ। इटहरी उपमहानगरपालिका–८ निवासी ताम्राकारमाथि हिजो (कात्तिक ९ गते) राति केही अराजक समूहले घरेलु हातहतियारसहित घरभित्र प्रवेश गरी आक्रमण गरेका हुन्।

घटनाबारे प्राप्त विवरणअनुसार अमरजित कुमार सिंह, उनकी श्रीमती र छोराहरू रोहित, सोहित र मोहीतकुमारले खुकुरीसहितका घरेलु हतियार प्रयोग गरी ताम्राकारमाथि आक्रमण गरेका थिए। सो समयमा ताम्राकार श्रीमतीसहित घरमा रहेका थिए। आक्रमणबाट ताम्राकार घाइते भएका छन् भने आक्रमणकारी समूहले उनकी श्रीमतीमाथि समेत आक्रमण गरेको बताइएको छ।

ताम्राकारले होहल्ला गरेर स्थानीयवासीलाई खबर गरेपछि आक्रमणकारीहरू फरार भएका थिए। घटना पछि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेका थिए।

उक्त घटनाप्रति नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघले विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा र भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको भयरहित वातावरणमा बाँच्ने नागरिकको अधिकारमाथि धावा बोल्ने र शान्ति सुरक्षामा खलल पु¥याउने व्यक्तिहरूमाथि हदसम्मको कारबाही हुनुपर्छ।”

महासंघले मुलुक राजनीतिक संक्रमणको अवस्थामा रहेको र प्रहरी प्रशासनको मनोबल उच्च नभएको बेला भएको यो आक्रमण नियोजित र आपराधिक भएको ठम्याएको छ। साथै, घटनामा संलग्न व्यक्तिहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने जानकारी प्राप्त भएको जनाएको छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा समाजमा शान्ति–सुरक्षा कायम गर्न राज्य पक्ष र नागरिक समाज दुवैसँग आग्रह गरेको छ।

WhatsApp Image 2025-10-27 at 2.10.05 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार