उदयपुर । उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
गएराती इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले ठुलो परिणाम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
गएराती अन्दाजी साढे १२ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्लाको चौदण्डीगढी नगरपालिका ३ पैँतालिस चोकमा चेकजाँचका क्रममा प्रहरीले ७६३.७६ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले मदन भण्डारी राजमार्गको पैँतालिस चोकमा पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा उक्त परिणामको प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त बोलेरो गाडी सँगै गाडीका चालक बेलका नगरपालिका ६ का अन्दाजी २३ बर्षिया रविन कुमार राई र सोही बोलेरोमा सवार रहेका अर्का व्यक्ति बेलका नगरपालिका ९ का अन्दाजी २८ बर्षिया राम बहादुर राईलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक प्रभात लक्छम लिम्बुले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको प्रतिबन्धित लागूऔषध गाँजा, बोलेर गाडी, चालक र सोही गाडीमा सवार अर्का व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पछिल्लो समय उदयपुरमा प्रतिबन्धित लागूऔषध गाँजाको ओसारपसार तीव्र रूपमा सुरु भएको छ । यसको न्यूनीकरणका लागि प्रहरीले जनचेतना मूलक कार्यक्रमहरूलाई समेत प्रभावकारी तरिकाले सञ्चालन गर्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया