भिजिट भिसा विवाद : संसद् खुलाउन सभामुखको कसरत

शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । भिजिट भिसा विवादका कारण संसद् अवरुद्ध बनेको अवस्थामा सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। संसद् अवरोध हटाई बजेटमाथि छलफल अगाडि बढाउन उनले शुक्रबार पहल थालेका छन्।

यसै क्रममा सभामुख घिमिरेले आज (जेठ १६) मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकअघि बिहान ११ बजे संसद्का प्रमुख सचेतक र सचेतकहरूसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

संसद्मा जारी अवरोध अन्त्य गर्ने र बजेट छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले यी बैठकहरू आह्वान गरिएको हो। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध पारिरहेका छन्।

विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उनको राजीनामा माग गरेका छन्। उनीहरूले बिहीबार (जेठ १५) प्रस्तुत भएको बजेट भाषणमा अवरोध नगरे पनि त्यसपछि नियमित बैठकमा अवरोधलाई निरन्तरता दिएका छन्।

यी विषयमा सहमति खोज्न सभामुख घिमिरेले छलफलको प्रक्रिया तीव्र बनाएका छन्। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सबै पक्षसँग संवाद गरेर समाधान निकाल्ने प्रयास भइरहेको छ।

अब सभामुखको पहलले संसद् पुनः सञ्चालनमा आउँछ वा राजनीतिक विवाद अझ चर्कन्छ भन्ने टुंगो केही दिनमै लाग्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार