लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सीमा राजन लम्साल निर्वाचित

आइतबार, २५ जेठ २०८२

काठमांडौं :  लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सी पदमा राजन लम्साल निर्वाचित भएका छन्। शनिबार काठमांडौंको प्रज्ञा भवनमा सम्पन्न निर्वाचनमा उनले खगेन्द्र सिटौलालाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचनमा लम्सालले १,३८७ मत प्राप्त गर्दा सिटौलाले ५३१ मत ल्याए। कुल २,३७१ मतभारमध्ये २,०६० मत खसेका थिए। नेपालभरका १५ वटा डिष्ट्रिक्टका क्लब प्रतिनिधिहरुले भाग लिएको यो निर्वाचन लायन्स नेपालमा अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको थियो।

यस निर्वाचनमार्फत लम्साल लायन्स क्लब इन्टरनेशनलको इसामे क्षेत्र (भारत, दक्षिण एशिया तथा मध्यपूर्व) अन्तर्गत सन् २०२६–२०२९ कार्यकालका लागि अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवार बन्नेछन्। उनी सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमा औपचारिक रूपमा निर्वाचित हुनेछन्।

लम्सालले सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएर सामाजिक सेवा सुरु गरेका थिए। विभिन्न डिष्ट्रिक्ट र मल्टिपलस्तरका नेतृत्व भूमिका सम्हाल्दै आएका उनी पछिल्ला तीन वर्षदेखि एलसीआईएफ एरिया लिडरका रूपमा क्रियाशील छन्। लम्सालको नेतृत्व र अनुभवले लायन्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार