झापामा 'सञ्चारमा नारी'को विमोचन गर्दै पूर्वराष्ट्रपतिले भनिन्,'चौथो अङ्गमा महिलाको उपस्थिति अझै न्यून'

आइतबार, २५ जेठ २०८२

विर्तामोड : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्ग मानिने सञ्चार क्षेत्रमा महिलाको पहुँच र सहभागिता अझै न्यून रहेको बताएकी छन्।

शनिबार विर्तामोडमा नारी सञ्चार गृह झापाले आयोजना गरेको अक्षयकोष घोषणा, पुस्तक विमोचन तथा दाता सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्पादनदेखि नीतिनिर्माण तहसम्म महिलाको उपस्थिति सीमित रहेकोप्रति चिन्ता व्यक्त गरिन्।

“सञ्चारको नेतृत्व तहमा महिलाको उपस्थिति न्यून हुनु केवल संख्याको विषय होइन, यो पहुँच र प्रतिनिधित्वको गम्भीर प्रश्न हो,” उनले भनिन्, “महिलाले भोगेका अनुभव, दृष्टिकोण र पीडाको संवेदनशील प्रस्तुति महिलाकै लेखनबाट प्रभावकारी हुन्छ।”

भण्डारीले चुनौतीपूर्ण परिस्थितिमा समेत महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल र सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरिन्।

कार्यक्रममा उनले नारी सञ्चार गृह झापाको अक्षयकोषमा योगदान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिन्। साथै, संस्था द्वारा प्रकाशित पुस्तक ‘सञ्चारमा नारी’ को पनि औपचारिक विमोचन गरिन्।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमका अनुसार संस्थाको अक्षयकोषमा हालसम्म ५० लाख रुपैयाँ संकलन भइसकेको छ।

sancharnari-2048x974

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार