काठमाडौं। देशभरको मौसम प्रतिकुल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयले शतर्क रहन आब्हान गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।
उता, जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार(आज)देखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।
यो समयमा भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीले यो समयमा नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ।
कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ।
त्यस्तै, चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन्।
सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय-समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ। तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ।
चोभार गल्छीको निरीक्षण
ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ।
स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए।
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो।
गृहको चेतावनी
गृह मन्त्रालयले आगामी असोज १७ देखि २० गतेसम्म पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
यसैबीच भारतको मौसम विभागले पनि सीमावर्ती बिहार राज्यसहित छत्तीसगढमा भारी वर्षाको आशंका गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ, जसको सीधा असर नेपालका तराई जिल्लामा पर्ने देखिएको छ।
मन्त्रालयले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जोखिमलाई ध्यानमा राख्दै, जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्थाको मूल्यांकन गरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई उँचो र सुरक्षित स्थानबारे जानकारी लिई आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
प्रतिक्रिया