जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दुई समुदायबीच शुक्रबार बेलुकी झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। घटनाक्रममा आक्रोशित समूहले तेलिया पोखरीको किनारमा बनाइएको टहरा आगजनी गरेका थिए भने केही घरमा समेत आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए।
झडप नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुङ्गामुढाबाट केही प्रहरीसहित स्थानीय घाइते भएका छन्। अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले साँझ ६:३० बजेदेखि वडा नम्बर २० का विभिन्न क्षेत्रमा कर्फ्यू आदेश लागू गरेको हो।
यसअघि गत भदौ दोस्रो सातामा पनि गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा यस्तै झडप भएको थियो। त्यतिबेला पोलमा राखिएको झण्डा हटाउने विषयलाई लिएर विवाद भएपछि दुवै पक्षबीच तनाव सिर्जना भएको थियो। त्यसलगत्तै भदौ १६ गते सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति गरिएको थियो।
प्रतिक्रिया