इटहरी : देश, जनता र परिवर्तनको पक्षमा अग्रगामी नेतृत्व लिएर अघि बढ्न इटहरीका कवि तथा कलाकारहरू सङ्गठित भएका छन् ।
आइतबार भएको भेलाले वर्तमान सरकारसँगै राजनीतिक दलको नेतृत्वलाई देशको चिन्ता लिएर अघि बढ्न दबाब दिने निरन्तर अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन, आन्दोलन गर्नुपर्ने परिस्थिति र पछिल्लो समयमा भइरहेका गतिविधिलाई संयमतापूर्वक तथा सुझबुझका साथ अघि बढ्नुपर्ने सन्देश प्रवाह गर्न कवि तथा कलाकारहरूले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्राध्यापक डा. बद्रीविशाल पोखरेलले बताए । उनका अनुसार देशको हितका निम्ति साझा ढङ्गले अघि बढ्न कवि तथा कलाकारहरू सङ्गठित हुनुपरेको हो ।
कलाकार विक्रम श्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले सरकार र राजनीतिक दलहरूलाई जबाफदेही बनाउन तथा देशलाई समृद्ध बनाउन कवि एवम् कलाकारहरूले सिर्जनात्मक क्रियाकलाप गर्नुपर्ने बताएका थिए ।
सत्ता र शक्तिभन्दा देश माथि हुने भएकाले अहिलेको पेचिलो अवस्थामा सङ्गठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको कवि गायत्री लम्सालले बताइन् ।भेलामा इटहरी क्षेत्रका कवि, लेखक, कलाकार तथा पत्रकार गरी ३५ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया