जेनजी आन्दोलनमा हिरासतबाट भागेका ९२ थुनुवामध्ये ५ पक्राउ, ८७ अझै फरार (नामावलीसहित )

मंगलबार, २५ कार्तिक २०८२

झापा :  झापामा जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासत तोडफोड गरी फरार भएका थुनुवामध्ये थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका २८ वर्षीय अनुमेश गिरी सोमबार राति आफ्नै घर बिर्तामोड–६ बाट पक्राउ परेका हुन्।

गत साउन १७ गते लागू औषधसहित पक्राउ परेका गिरी जेनजी आन्दोलनका क्रममा अन्य थुनुवासँगै प्रहरी हिरासतबाट भागेका थिए।  यसअघि गत बुधबार इलाका प्रहरी कार्यालय बिर्तामोडकै हिरासतबाट फरार भएका २६ वर्षीय बीरबहादुर राजवंशी पनि पक्राउ परेका थिए। उनलाई प्रहरी चौकी बिर्ता बजारबाट खटिएको टोलीले घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

फरार थुनुवामध्ये यसअघि लागूऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका–९ का गंगाराज चौहान र सोही ठाउँका सुजन अधिकारी आफैँ आएर प्रहरीमा समर्पण गरेका थिए। त्यस्तै, बिर्तामोड–५ का लागूऔषध कारोबारी भानुभक्त खरेलका कामदार अर्जुनधारा–६ का विनोद घिमिरे पनि आफैँ प्रहरी सम्पर्कमा आएका थिए।

यससँगै जेनजी आन्दोलनको क्रममा झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट फरार भएका ९२ जना थुनुवामध्ये हालसम्म ३ जना आफैँ आए, २ जना पक्राउ परे, तर अझै ८७ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा आन्दोलनकारीहरूले झापाका विभिन्न प्रहरी कार्यालयहरू—इलाका प्रहरी कार्यालय दमक (५१ जना), अनारमनी (३६ जना) र झिलझिले (५ जना) गरी जम्मा ९२ जना थुनुवालाई भगाएका थिए।

फरारमध्ये धेरैजसो लागू औषधका व्यापारी तथा प्रयोगकर्ताहरू रहेका छन्। उनीहरूमध्ये नेकपा एमाले निकट लागूऔषध कारोबारी भानुभक्त खरेलका साझेदार राजेन्द्र पन्धाक, विष्णु बगाले थापा र गङ्गाबहादुर खड्का पनि रहेको प्रहरी स्रोत बताउँछ। पन्धाक बिर्तामोडबाट, बगाले र खड्का दमकको प्रहरी हिरासतबाट फरार भएका हुन्।

लागू औषधका कारोबारी बिर्तामोड ५ का भानुभक्त खरेलका कामदार अर्जुनधारा–६ दासपुल बस्ने २५ वर्षीय विनोद घिमिरे पनि आफै प्रहरीको सम्पर्कमा आएका थिए । पछि उनी धरौटीमा छुटेका छन् भने लागू औषधका कारोबारी खरेल पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् । 

फरार थुनुवामध्ये जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी र अभद्र व्यवहारका मुद्दामा संलग्नहरू पनि छन्।

प्रहरी स्रोतका अनुसार, फरार थुनुवाहरूमा बिर्तामोड, दमक, कनकाई, अर्जुनधारा, भद्रपुरलगायतका विभिन्न स्थानका बासिन्दा छन्।

हालसम्म झापा प्रहरीले फरार थुनुवाहरू को सूची सार्वजनिक गरेको छैन । 

प्रहरी श्रोतका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड ) बाट भागेका थुनुवाहरूको नामावली 

दमक नगरपालिका वडा नं १ का विजय कर्माकार–लागूऔषध,

 कमल गाउँपालिका वडा नं १ का सन्तोष मिस्तेरी– लागूऔषध ,

 बिर्तामोड वडा नं ३ का विरबहादुर राजवंशी–लागूऔषध, (पक्राउ)

 बिर्तामोड वडा नं १ का विशाल गौतम–लागूऔषध ,

 इलाम नगरपालिका वडा नं ९ का गंगाराम चौहान– लागूऔषध , 

सोही ठाउँका सुजन अधिकारी–लागूऔषध ,

 बिर्तामोड वडा नं ३ का मोहम्मद ममज मियाँ–लागूऔषध , 

कनकाई वडा नं ४ का मुस्ताक अन्सारी–लागूऔषध ,

सोही ठाउँका सुनिल यादव–लागूऔषध , 

अर्जुनधारा वडा नं ६ का विनोद घिमिरे –लागूऔषध, (पक्राउ)

सिन्धुली भिमान गाउँपालिका वडा नं १० का विनोद विक–लागूऔषध , 

झापा गाउँपालिका ३ की प्रेमकला महतो–लागूऔषध ,

 बिर्तामोड वडा नं ६ का अनुमेश गिरी–लागूऔषध , (पक्राउ)

 अर्जुनधारा ३ का जीवन चम्लागाँई –लागूऔषध , 

बिर्तामोड ५ का राजेन्द्र पन्धाक–लागूऔषध ,

अर्जुनधारा ८ हाल बिर्तामोड वडा नं ४ का नितेश शिवा दमाई –चोरी,

 कनकाई वडा नं ७ का चन्द्रबहादुर धमला–चोरी ,

 हल्दिवारी वडा नं ४ का सरोज पौडेल–लागूऔषध , 

बिर्तामोड ८ का पंकजराज मैनाली–लागूऔषध,

 सोही ठाउँका शंकर चिमरिया–लागूऔषध , 

भद्रपुर १० का प्रदिप राई–लागूऔषध ,

 हुम्ला नामखा गाउँपालिका १ का राजु लामा–लागूऔषध , 

बिर्तामोड ७ का कृष्ण पौडेल– चोरी,

 अर्जुनधारा ८ का घनश्याम साह–लागूऔषध,

 भद्रपुर ८ का गणेश मिस्त्री–अभद्र व्यवहार ,

 दमक ४ का रामकुमार धिमाल–अभद्र व्यवहार , 

धनकुटा पोलिखर्क ५ का होमबहादुर विक–अभद्र व्यवहार , 

सुनसरी दुहवी १२ का शैलेन्द्र मेहता–अभद्र व्यवहार ,

सानाहरि नगरपालिका ९ का रोहन चौधरी–अभद्र व्यवहार ,

 कनकाई वडा नं ३ का योगेन्द्र मैनाली–ज्यान मार्ने उद्योग ,

 बाह्रदशी ५का डिकेन्द्र थापा–अभद्र व्यवहार , 

बिर्तामोड ५ का सुरज गुरुङ –लागूऔषध ,

 कन्काई ३ का रमेश मुखिया सुनुवार–लागूऔषध रहेका छन् ।

थुनुवाहरू फरार भएदेखि लामो समय बितिसक्दा पनि उनीहरूको खोजी कार्य प्रभावकारी रूपमा अघि नबढ्दा स्थानीय बासिन्दा असुरक्षित महसुस गरिरहेका छन्।  सुरक्षा निकायले भने प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा आएसँगै फरार थुनुवाहरूको खोजी तीव्र बनाइने जनाएको छ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार