काठमाडौं : सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा राजनीतिक विश्लेषक सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश प्रमुख भण्डारी एमाले नेता सरोज यादवलाई विवादास्पद रूपमा मुख्यमन्त्री नियुक्त गरेको घटनापछि आलोचनाको केन्द्रमा परेकी थिइन्। आइतबार कांग्रेससहित सात दलले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न ध्यानाकर्षण गराएपछि भण्डारीले अस्वस्थता जनाउँदै जनकपुरबाट काठमाडौं प्रस्थान गरेको बताइएको थियो।
तर त्यसकै भोलिपल्ट उनले जनकपुरमा नभई कुने एक होटल पानसमा संविधानको धारा १६८(३) अनुसार एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरेकी थिइन्। सोही होटलमै उनले यादवलाई शपथ पनि खुवाएकी थिइन्।
यो घटनाले मधेश प्रदेशको राजनीतिक वातावरण तातिएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख भण्डारीले “प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेकी” आरोप लगाएका थिए। त्यसपछि प्रदेश राजधानी जनकपुरमा प्रदर्शन भइरहेका बेला प्रदेश प्रमुखको निवास र मुख्यमन्त्री कार्यकक्षमा तोडफोडसमेत भएको थियो।
भण्डारीको उक्त कदमलाई संघीय शासन प्रणाली र संविधानको मर्म विपरीत भन्दै विभिन्न राजनीतिक दल र कानुनविद्हरूले आलोचना गरेका थिए।
प्रतिक्रिया