जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

आइतबार, २३ कार्तिक २०८२

दाङ : दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु भएको छ ।

गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।  

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो । 

प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शवपरीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए । 
    
घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले  ‘पोस्टमार्टम रिपोर्ट’ आएपछि थप कुरा प्रस्ट हुने उल्लेख गरे । उनले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार