झापा: झापाको दमक नगरपालिका–७ बुद्धमार्गमा एक व्यक्ति चक्कु प्रहारबाट गम्भीर घाइते भएका छन्।
कात्तिक २२ गते राति करिब १०:०० बजे, दमक–७ बुद्धमार्गस्थित धर्म बिस्टको घरमा डेरा गरी बस्ने ४० वर्षीय प्रकाश श्रेष्ठलाई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय मनकुमार कार्कीले चक्कु प्रहार गरेका हुन्।
दुवै जना मादक पदार्थ सेवन (मापसे) गरी बसिरहेको अवस्थामा आपसी विवादपछि मनकुमार कार्कीले प्रकाश श्रेष्ठको बायाँ कानदेखि तल घाँटीसम्म चक्कु प्रहार गरी घाइते बनाएका थिए।
घटनाबारे जानकारी राति १०:१५ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि प्रहरी नायब निरीक्षक सिताराम भण्डारीको नेतृत्वमा रहेको टोली तथा QRT समूह घटनास्थलमा खटेको थियो।
घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएकोमा, प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C अस्पताल, बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ।
हाल घाइतेको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल स्रोतले बताएका छन्। यसैबीच, चक्कु प्रहार गर्ने मनकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रतिक्रिया