होटलमा सपथ लिएका मुख्यमन्त्री यादवले भने - 'सर्वोच्चले भने तत्काल पद छोड्छु'

मंगलबार, २५ कार्तिक २०८२

काठमाडाैं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन्।

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको जनाए।

बिगतमा सरकार बन्दा एमालेले अन्य दललाई मुख्य रुपमा सहयोग गरेको हैसियतमा अब आफूलाई अन्य दलले आफुलाई विश्वासको मत दिने उनले बताए।

मुख्यमन्त्री यादवले अघिल्लो दिन आफुले नियुक्तिको पत्र पाइसकेपछि शपथ ग्रहण गराएरमात्रै काठमाडौं जान प्रदेश प्रमुखलाई भनेको दाबी गरे। त्यसैका कारण आफ्नो सपथ बिहानै होटलमा आयोजना गरिएको उनको भनाइ छ। उहाले प्रदेश प्रमुख पदमुक्त गरिएकोमा असन्तुष्टि व्यक्त गरे।

यसैबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता सरोज यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मधेश प्रदेशका ७४ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा असहमति जनाउँदै रिट दायर गरेका हुन्। उक्त रिट निवेदन बुधबारका लागि पेशी तोकिएको छ।

मधेश प्रदेशकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता यादवलाई मुख्यमन्त्री बनाएकी थिइन्। संविधानको धारा १८६ (३) को गलत प्रयोग भएको भनेर भण्डारीको चर्को आलोचना भएपछि सरकारले उनलाई पदमुक्त गरिसकेको छ।

उपधारा ३ मा उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार