झापा : झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीमा निर्माणाधीन भृकुटी अस्पताल मङ्सिर अन्तिम साताबाट सेवा सञ्चालनमा आउने भएको छ।
‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने नाराका साथ स्थापना हुन लागेको यस अस्पतालको उद्देश्य आम नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ।
अस्पताल सञ्चालकहरूले जानकारी दिएअनुसार, चार वर्षअघिबाट सुरु गरिएको भौतिक संरचना निर्माण कार्य कोरोना महामारीका कारण केही ढिला भएको थियो। तर अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको र मङ्सिर अन्तिमबाट सेवाहरू उपलब्ध हुने बताएका छन्।
भृकुटी अस्पताल पाडाजुङ्गी चोक नजिक आदिवासी रङ्गशालाको दक्षिण राजमार्गमा रहेको तीन बिघा जग्गामा स्थापित छ। युवा व्यवसायीहरू प्रताप कार्की, बुद्धिमान थापा र नसिम कार्कीले अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन्।
अस्पतालले प्रारम्भिक चरणमा १०० सैय्याबाट सेवा सुरु गर्ने र आवश्यकताअनुसार विस्तार गरी ५०० सैय्या पु¥याउने योजना रहेको छ। सञ्चालक बुद्धिमान थापाका अनुसार, यस अस्पतालबाट झापा मात्रै नभई इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ लगायतका जिल्लाका नागरिक लाभान्वित हुनेछन्।
रवि–चिसापानी सडक खण्ड सञ्चालन भएपछि पहाडी जिल्लाका नागरिकलाई पनि यहाँ पुग्न सजिलो हुने थापाको भनाइ छ।
प्रताप कार्कीले भने, “स्वास्थ्य सेवा नागरिकको अधिकार हो। अस्पतालमा अत्याधुनिक प्रविधि र मेसिन जडान गरिएको छ, जसले गर्दा सबै प्रकारका स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानु पर्ने आवश्यक नपर्ला।”
अस्पतालले ओपिडी, भित्री बिरामी, आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, एम्बुलेन्स, शल्यक्रिया सहित फिजियोथेरापी, युरोलोजी, अर्थोपेडिक्स, न्युरोलोजी, मेटरनिटी, नियोनेटल, पिडियाट्रिक्स, जेनेरल सर्जरी, ग्यास्ट्रोइन्ट्रोलोजी, क्याजुलटी, कार्डियोलोजी, हेमाटोलोजी, नाक–कान–घाँटी, क्रिटिकल केयर, मेडिसिन, डर्माटोलोजी, साइकेट्रिक, डेन्टल, अफ्थाल्मोलोजी, नेफ्रोलोजी लगायतका सेवा उपलब्ध गराउनेछ।
सञ्चालकका अनुसार, अस्पतालको संरचना पूर्ण रूपमा बिरामी मैत्री छ र एक तलामा करिब ३०० बिरामी अटाउन सकिन्छ। अस्पतालले हाल ४१० जनाको कर्मचारी माग गरेको छ र स्थानीय युवाहरूलाई प्राथमिकता दिइएको छ।
भृकुटी अस्पतालको भविष्य योजना अन्तर्गत नर्सिङ कलेज सञ्चालन गर्ने योजना समेत छ। एक वर्षभित्र नर्सिङ कलेज स्थापना गरेर, अस्पतालसँग समन्वयमा स्वास्थ्य सेवा र शिक्षा दुवै उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सञ्चालकहरूले आश्वासन दिएका छन् कि भृकुटी अस्पताल पूर्वकै भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्था बन्नेछ।
प्रतिक्रिया