एमालेमा पुनरागमन : श्रेष्ठको पश्चात्ताप, झाँक्रीको प्रहार !

सोमबार, २४ कार्तिक २०८२

काठमाडौं : नेकपा (एमाले) मा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्कौं अभियान’ कार्यक्रममा बोल्दै उनले विगतमा भएका गल्ती र कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे।

श्रेष्ठले भने, “विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ। यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ।”

उनले एमाले केवल एउटा संगठन नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बताउँदै अब पुनः त्यही बाटोमा फर्किएको बताए। श्रेष्ठले भने, “आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ। देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ।”

श्रेष्ठका अनुसार, पार्टीमा पुनः एकता कायम गरेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन आफूहरू प्रतिबद्ध छन्।

त्यसैगरी, सोही कार्यक्रममा नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले जेन्जी आन्दोलनको प्रसङ्ग उठाउँदै त्यसलाई सरकारविरुद्धको योजनाबद्ध प्रहारको रूपमा व्याख्या गरिन्। उनले भनिन्, “जेन्जीको नाममा जे भइरहेको थियो, त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो। सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कसले प्रस्तुत गरेको थियो?”

उनका अनुसार जेन्जी आन्दोलन युवा पुस्ताको आक्रोश भए पनि त्यसलाई केही तत्वहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरे। झाँक्रीले भनिन्, “आज फर्केर हेर्दा जेन्जी आन्दोलन भर्सेस नेकपा एमालेको रूपमा परिणत भयो, र त्यसको नेतृत्व एमाले उभिएको देखिन्छ।”

कार्यक्रममा उनले अध्यक्ष ओलीलाई “राष्ट्रवादी व्यक्तित्व कमरेड” भन्दै सम्बोधन गर्दै देशको स्थायित्व, समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दामा एमालेको भूमिकालाई महत्वपूर्ण बताइन्।

घर फर्कौं अभियानमा हालैका वर्षमा विभिन्न कारणले पार्टी छोडेका दर्जनौँ नेता तथा कार्यकर्ताले पुनः एमालेमा प्रवेश गरेका छन्। पार्टीले यस अभियानलाई संगठन सुदृढीकरण र वाम एकताको रणनीतिक कदमका रूपमा अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार