काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलन विध्वंसात्मक र विनाशकारी बनेको भन्दै यसको यथार्थ छानबिन गर्नुपर्ने माग गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण हुने पूर्वघोषणा गरे पनि विपरीत ढंगले विनाशकारी गतिविधि भएको र यसबारे सत्यतथ्य पत्ता लगाउन अपरिहार्य भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “यसमा कुनै संलग्नता नरहेको आयोजकहरूको स्पष्टोक्तिका बाबजुद यस्ता घटनाहरू कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ। यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ।”
पोखरेलले समग्र परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरेर कमजोरीहरू उपयुक्त समयमा समीक्षा गर्नुपर्ने बताए। साथै, प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट मात्र खोजिनुपर्ने उनको भनाइ छ।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर पार्न नहुने उल्लेख गर्दै उनले समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई अझ सबल र सुदृढ बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया