काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र ‘चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि ?’ भन्ने विवाद पार्टी कार्यालयमा मात्रै सीमित नभई चोकचोकमा पुगेको छ ।
पार्टी संस्थापन पक्षले प्रतिनिधि सभाको निर्वाचनपछि महाधिवेशन गर्ने तयारी गरिरहँदा संस्थापनइतर पक्षले चुनावअघि महाधिवेशन गर्नुपर्ने दृढता कायम राखेका छन् ।
यससँगै पार्टीका विभिन्न सङ्गठनले केन्द्रीय समितिमाथि दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । युवा समूह, महिला समूह, सम्पर्क समितिलगायत फरकफरक संस्थाले दैनिकजसो खबरदारी कार्यक्रम राखेका छन् ।
उनीहरूले केन्द्रीय समितिलाई समेत पटकपटक ध्यानाकर्षण गरिसकेका छन् । विगत एक महिनाअघिबाट बसेको केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसक्दा पार्टीप्रतिको भरोसा थप धुमिल हुँदै गएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधिहरूको भावनाअनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्ने एजेन्डाबाट एक कदम पछि हटेका छैनन् । पार्टीका अघिल्ला धेरै निर्णयलाई स्वीकार गरे गल्ती गरेकोप्रति प्रायश्चित हुँदै महामन्त्री गगन थापाले अव त्यस्तो गल्ती नगर्ने भन्दै चुनावअघि महाधिवेशन वा विशेष महाधिवेशनको विकल्प खोज्न नसक्ने दृढता व्यक्त गरे । महामन्त्री गगन र विश्वको अडानबीच नयाँ समझदारीका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बसेको थियो । शुक्रवार बसेको सो बैठकबाट समेत सहमति जुट्न नसकेकाले शनिवार फेरि बस्ने नेताहरूले बताएका छन् ।
पार्टीभित्र देखिएको समस्या समाधानका लागि कार्यवाहक सभापति खड्काले पदाधिकारीबाहिर रहेका नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । महाधिवेशनको मितिबारे सहमति नजुटे शनिवार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सर्न सक्नेछ ।
संस्थापन इतरका नेता डा. कोइरालाले भने पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नेगरी पार्टीले निर्णय लिनुपर्ने मध्यमार्गी बाटो अपनाएर समस्या समाधानका उपायको खोजी गर्नुपर्ने पक्षमा छन् । ‘पार्टीलाई विभाजनबाट रोक्न चुनावअघि नियमित महाधिवेशन गर्नेगरी निर्णय लिने वा केन्द्रीय समितिले नै विशेष महाधिवेशनको निर्णय गर्नुपर्छ,’ नेता कोइरालाले नेताहरूलाई सुझाव दिएका छन् ।
ललितपुरको धोबीघाटमा बसेको बैठकले पदाधिकारीसहित सबैसँग समन्वय गरेर पार्टीभित्रको निकास निकाल्ने जिम्मा कावा सभापति खड्कालाई दिएको सहमहामन्त्री किशोरसिंह राठौरले बताए । कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समस्याको समाधान खोज्ने उनले बताए । ‘कार्यवाहक सभापतिलाई जिम्मेवारी दिएका छौँ । उहाँसहित उपसभापति र महामन्त्रीहरू बसेर निकास खोज्नुहुन्छ ।’ पदाधिकारी बाहिर रहेका कतिपय नेताहरूको समेत सहयोगमा निकास निकाल्ने उनको भनाइ छ ।
जेनजी आन्दोलनपछिको परिस्थिति हेरेर काँग्रेसको नियमित महाधिवेशन चुनावअघि नै हुनुपर्ने संस्थापन इतरको एजेन्डाबाट नेता पछि हटेका छैनन् । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर भए पनि पार्टी नेतृत्व र नीति परिवर्तन गरेर जनतामाझ जानुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता लागेका छन् । महामन्त्रीकै अगुवाइमा देशभरका कम्तीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् ।
तर ती महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको आवाज दबाउन संस्थापन पक्षका नेता निरन्तर लागेका छन् । यद्यपि कम्तीमा ३० जना संस्थापन पक्षका केन्द्रीय नेताहरूले भने चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् ।
असोज २८ बाट सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले एक महिना लगाएर आफ्ना धारणा राखिसकेका छन् । शनिवारसम्म निर्णय आउने अपेक्षासहित २५ जना नेताहरूले चुनावअघि नै पार्टीको महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बताइन् ।
प्रतिक्रिया