जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गरेका छन् ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।
पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह (सर्लाही) र जनता समाजवादी पार्टी (जसपा) का सांसद मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।
सभामुखले जारी गरेको सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा १८० अनुसार प्रदेशसभा बैठकमा लगातार दश पटक अनुपस्थित रहेका यी माननीय सदस्यहरू २०८२ मंसिर २७ गतेदेखि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका छन् । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम यो सूचना सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।”
उल्लेखनीय कुरा के छ भने, सभामुख मण्डलमाथि सात दलले अविश्वासको प्रस्ताव दर्ता गरेको दिनमै उनले यी सांसदहरूलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
राजनीतिक वृत्तमा यो कदमलाई ‘प्रतिशोधको कारबाही’ का रूपमा पनि हेरिएको छ । विपक्षी दलहरूले सभामुखले पदको दुरुपयोग गर्दै पक्षपाती ढंगले निर्णय गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया