काठमाडौँ : अब नागरिकले आफ्नै राष्ट्रिय परिचयपत्र प्रयोग गरी अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निर्वाचन आयोगले अनलाइन प्रणालीबाट मतदाता दर्ता प्रक्रिया सुरु गरेको बताइन् ।
यस सुविधापछि राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब बायोमेट्रिकका लागि निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता रहने छैन । नयाँ प्रणालीमार्फत नागरिकले आयोगको वेबसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेर आफ्नो विवरण स्वतः दर्ता गर्न सक्नेछन् ।
मतदाता नामावली दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुने बताइएको छ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रका विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था छ ।
तेस्रो चरणमा मतदान स्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अनलाइनमै अपलोड गर्न सकिनेछ ।
अन्तिम चरणमा सबै विवरण अन्तिम पटक समीक्षा गरी फारम पेस गरेपछि मतदाता दर्ता प्रक्रिया पूरा हुनेछ । निर्वाचन आयोगका अनुसार, यो प्रणालीले नागरिकलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया