तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना : प्रेस काउन्सिल नेपाल

विहीबार, २७ कार्तिक २०८२

काठमाडौँ : पछिल्ला तीन महिनाको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

काउन्सिलले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा जानकारी दिँदै साउनदेखि असोजसम्मको अवधिमा ती घटना दर्ता भएको जनाएको हो ।

काउन्सिलका अनुसार तीमध्ये कुटपिटका ३४, दुर्व्यवहारका १०, पेसागत असुरक्षाका ८, कब्जा एवं अवरोधका ५ र नीतिगत बन्देजका २ घटना रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिताको विश्वसनीयता र मर्यादा कायम राख्न आचारसंहिता पालन अनिवार्य रहेको बताए । उनका अनुसार महासङ्घले आचारसंहिता कार्यान्वयनका लागि संस्थागत पहल अघि बढाइरहेको छ ।

सो अवसरमा काउन्सिलका सदस्यहरू विजयराज अधिकारी, पद्मराज जोशी, शन्तराम बिडारी, नकुल अर्याल र बालकृष्ण अधिकारी, मुख्य अधिकृत झविन्द्र भुसाल, साथै नेपाल पत्रकार महासङ्घका काठमाडौँ उपत्यकास्थित शाखा अध्यक्षहरू र प्रतिनिधिहरूले आचारसंहिता कार्यान्वयनमा आइपरेका समस्या तथा समाधानका उपायबारे आ–आफ्ना धारणा राखे ।

वक्ताहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य संयन्त्र, सञ्चार संस्थान र पत्रकार स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार