एमालेको नेतृत्व चयनका लागि आज मतदान

बुधबार, ०२ पुस २०८२

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधवार) मतदान हुँदैछ । यसअघि हिजो राति ८ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदान बुधवारका लागि सारिएको हो ।

निर्वाचन तालिका अनुसार आज बिहान ८ बजेबाट मतदान सुरु हुने बताइएको छ ।

एक अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पाँच उपाध्यक्षका लागि ११ जना, एक महासचिवका लागि २, तीन उपमहासचिवका लागि ७, नौ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।

दुवै नेता प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन पक्ष (ओली पक्ष)बाट उपाध्यक्षका लागि विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्बीसुब्बा गुरुङ र रघुजी पन्त उम्मेदवार छन् ।

त्यस्तै, संस्थापन पक्षबाट महासचिवमा शङ्कर पोखरेल उम्मेदवार छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिकमत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्की उम्मेदवार छन् ।

त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन् ।

सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ, इन्द्रलाल सापकोटा र अग्नि खरेलको उम्मेदवारी रहेको छ । यस्तै, एमाले नेतृ पेम्बा लामा र नेता लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार