राजनीतिक निकास खोज्दै देउवा–ओली संवाद, पुनर्स्थापना कि निर्वाचन?

मंगलबार, ०८ पुस २०८२

काठमाडौँ : सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबिच भेटवार्ता भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका महासचिव शंकर पोखरेललाई लिएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगन्ज पुगे ।

यी दुई दलका नेताहरू पछिल्लो समय निरन्तर छलफलमा छन् । यसअघि मङ्सिर १९ गते काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेट भएको थियो ।

उक्त भेटलगत्तै काँग्रेसका आठ जना विघटित प्रतिनिधि सभाका सदस्य प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका थिए । उक्त मुद्दामा अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । सोही मुद्दालाई बलियो बनाउन काँग्रेसका ६६ जना सांसदले हस्ताक्षर गरेका छन् । यसै पृष्ठभूमिमा सोमबार ओली र देउवाबीच पुनः भेट भएको हो ।

भेटमा प्रतिनिधि सभाको निर्वाचन गर्ने सवालमा समस्याका रूपमा देखिएका सुरक्षा चुनौती, मौसम, सरकार र दलका शीर्ष नेताबीचको संवादहीनताको अवस्थाबारे छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।

अर्थ–राजनीतिक विश्लेषक अरुण सुवेदीले देशको पछिल्लो अवस्था आउनुको कारण परराष्ट्र मामिला र अर्थ–राजनीतिक विफलता भएकाले त्यस विषयमा आवश्यक संवाद हुन सक्ने बताएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा समेत कसरी जाने भन्ने विषयमा छलफल हुन सक्ने उनको अनुमान छ ।

देउवा प्रधानमन्त्री हुँदाका आर्थिक सल्लाहकारसमेत रहेका सुवेदीले मध्यान्हसँग भने, ‘अहिलेको मुख्य समस्या नै परराष्ट्र मामिला र अर्थ–राजनीतिक विफलताको विषय हो ।

यसको बाधक संविधान नै हो । त्यसैले जिम्मेवार दलका शीर्ष नेताबीच असफलतालाई सच्याएर जाने, संसद् रिकल गरेर संविधान संशोधन गर्दै जाने र राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जाने विषयमा छलफल भएको हुन सक्छ ।’ नयाँ दल र युवाहरू बहकिएको भन्दै जिम्मेवार दलहरूले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने उनको तर्क छ ।

काँग्रेस सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारले जेनजी आन्दोलनको बलमा बनेको सरकारले चुनाव गराउने विश्वसनीय वातावरण बनाउन नसकेको अवस्थामा शीर्ष नेताहरूबिच राजनीतिक कुराकानी भएको बताए ।

‘सरकारले चुनाव गराउने छाँटकाँट देखाएको छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा जेनजी आन्दोलनका नाममा लकआउट गरिएको संविधानलाई पुनः ट्र्याकमा ल्याएर राजनीतिक निकास दिने विषयमा शीर्ष नेताबीच छलफल भएको हो ।’

ओली र देउवा दुवै जेनजी आन्दोलनअघिका सत्ता सहयात्री दलका नेता हुन् । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट सरकार बन्न सकेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा र ओली दुवैको सक्रियता बढ्दो छ ।

काँग्रेस सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार ओली र देउवा मात्रै नभई सबै दलका शीर्ष नेताबीच आवश्यक छलफल र संवादहरू भइरहेका छन् ।

निर्वाचन नहुँदा विघटित प्रतिनिधि सभालाई अन्तरिम संसद्को रूपमा पुनर्स्थापना गरी संविधान संशोधनलगायतका काम गर्ने र केही समयमै निर्वाचन गर्ने विषयमा नेताहरूबिच छलफल भएको उनको भनाइ छ । यस कारण सोमबार ओली र देउवाबीच भएको भेटलाई राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

तत्कालीन सत्ता साझेदार दल काँग्रेस–एमालेका अधिकांश सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत पुगेका छन् । एमालेले संसद् ब्युँताउने विषयमा केन्द्रीय कमिटीबाटै निर्णय गरेको छ भने काँग्रेसले सरकार गठन र संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ ।

काँग्रेसको केन्द्रीय समितिले कानुनी रूपमा संसद् विघटनलाई असंवैधानिक भने पनि राजनीतिक रूपमा निर्वाचनमा जाने निर्णय गरेको सो दलका निवर्तमान पूर्वप्रमुख सचेतक श्याम घिमिरेले बताए ।

देउवा–ओलीको पहिलो भेटपछि काँग्रेसका आठ पूर्वअसांसदको वारेसमार्फत विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । सोमबार काँग्रेसका ६६ सांसदसहित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले समेत हस्ताक्षर गरेका छन् ।

उनीहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि काँग्रेसको संसदीय दलको कार्यालयमै पुगेर हस्ताक्षर गरेका हुन् । यसै सन्दर्भमा पुराना दलका शीर्ष नेतृत्वबीचको भेटघाट बाक्लिँदै जानुलाई प्रतिनिधि सभा पुनर्स्थापना हुने बाटो फराकिलो बन्दै गएको कोणबाट पनि विश्लेषण गरिएको छ ।

चर्चामा चुनावी सहकार्य

शीर्ष नेताहरूबीचको संवादसँगै चुनावी सहकार्यको विषय पनि चर्चामा छ । खासगरी नजिकिँदै गरेको राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा दलहरू संवादमा रहेको नेताहरू बताउँछन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा पनि सोमबार देउवा र ओलीबीच संवाद भएको बताइएको छ । राष्ट्रिय सभाको निर्वाचनमा को–को कसरी मिलेर जाने भन्ने विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।

राष्ट्रिय सभाको निर्वाचनमा कोही न कोहीसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको दलहरूले महसुस गरेका छन् । यसअघि ओली दम्पती मङ्सिर १९ गते महाराजगन्जस्थित निवासमै पुगेका देउवा दम्पतीसँग भेटवार्ता गरेका थिए ।

काँग्रेस सभापति देउवासँग पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भेट गरेका छन् । उनीहरूबीच राष्ट्रिय राजनीतिमा देखापरेका समस्या र आम निर्वाचनका सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार