हर्क साम्पाङले पार्टीका उपाध्यक्ष मित्र परियारलाई गरे निलम्बन

सोमबार, ०७ पुस २०८२

इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारलाई निलम्बन गरेका छन्।

अध्यक्ष राईले आज (पुस ७ गते) जारी गरेको आधिकारिक विज्ञप्तिमा पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै परियारलाई पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, २०८२ पुस ५ गते रुपन्देहीको बुटवलमा आयोजित आमसभामा परियारले आयोजकप्रति अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएका थिए। साथै, जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक तथा अपमानजनक शब्द प्रयोग गरी गाली गरेको आरोपसमेत लगाइएको छ। यी दुवै कारणका आधारमा उनलाई कारबाही गरिएको अध्यक्ष राईले स्पष्ट पारेका छन्।

अध्यक्ष राईले विज्ञप्तिमा भनेका छन्, “श्रम संस्कृति पार्टीमा कोही नेता वा कार्यकर्ता हुँदैन, सबै श्रमदाता हुन्। ‘केन्द्र समितिको हुँ’ भन्दै पार्टीका सदस्यहरूलाई अपमान गर्ने व्यवहार सह्य हुँदैन। यस्ता कार्यमा संलग्न जो–कोहीमाथि यस्तै कारबाही गरिनेछ।”

यसअघि घटनाकै दिन शनिवार सामाजिक सञ्जालमार्फत ‘नसच्चिएसम्म कारबाही’ गरिने चेतावनी दिएका राईले सोमबार पार्टीको लेटरप्याडमा औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

shram-mitra_oGHgaUdQws

देशदौडाहा अभियानअन्तर्गत श्रम संस्कृति पार्टीले शनिवार बुटवलमा चुनावी सभा आयोजना गरेको थियो। सो सभामा सम्बोधन गर्दै उपाध्यक्ष परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडिओमा उनले, “म केन्द्रीय उपाध्यक्ष हुँ, मलाई पनि बोल्न पाउनुपर्छ,” भन्दै असन्तुष्टि व्यक्त गरेका देखिन्छन्।

यो निलम्बनसँगै पार्टीमा पछिल्लो समय नेतृत्व सङ्कट थप चुलिएको छ। यसअघि पनि अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेपछि पुस २ गते निलम्बन गरिएको थियो। तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्दा दर्ता भई सीआईबीले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरी थप कारबाहीका लागि पाँचथर पठाएको थियो।

दुई उपाध्यक्ष निलम्बन भएसँगै हाल श्रम संस्कृति पार्टीमा लोकनाथ चुँडाल मात्र उपाध्यक्षका रूपमा बाँकी रहेका छन्। उपाध्यक्ष तामाङ निलम्बन भइसकेपछि पनि पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङले पुस २ गते जारी गरेको अद्यावधिक विवरणमा उपाध्यक्षका रूपमा लोकनाथ चुँडाल र मित्र परियारको नाम उल्लेख गरिएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार