विराटनगरमा ९३ औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिने

विहीबार, ०६ भदौ २०८१
विराटनगर : विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक एवं धार्मिक महत्वको राधाकृष्ण रथयात्रा आगामी मंगलबार (भदौ ११ गते) निकालिने भएको छ । यसवर्ष निकाल्न लागिएको ९३ औँ संस्करणको राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको जनाइएको छ । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३ः३० बजेतिर निकाल्ने तयारी छ । राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विगतभन्दा भिन्न शैलीमा यसवर्ष रथ निकालिने रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । ‘विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको छ । रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा छ,’ उनले भने, ‘यो नेपालको सबैभन्दा ठूलो र पुरानो रथयात्रा हो । छुट्टै महत्व रहेकाले भक्तजनको उल्लेखनीय उपस्थिति रहने गरेको छ ।’ उनका अनुसार रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने रेग्मीले बताए । भक्तजनहरुलाई रथको पूजाका लागि सहज रूपमा व्यवस्थापन मिलाइने समतिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उनका अनुसार यात्रा अवधिभर ४३ स्थानमा रथलाई विश्राम गराइने छ । राठीले रथयात्रामा विगतजस्तो व्यावसायिक प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको बताए । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा प्रारम्भ भएको थियो । त्यसैलाई २०२५ सालदेखि रथयात्राका रूपमा निकाल्न थालिएको हो । रथयात्राको अवलोक गर्न र रथको पूजा गर्न पूर्वी नेपालका विभिन्न स्थानसहित भारतको बिहारलगायतबाट समेत हजारौं भक्तजन आउने गरेका छन् । पछिल्लो समय सुनसरी, झापालगायतका स्थानमा पनि रथयात्रा निकाल्न थालिएको छ । जसको असर विराटनगरको रथयात्रामा पर्न थालेको छ । विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै गएको छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको धार्मिक अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार