मोरङमा कपडा पसलमा आगलागी हुँदा २५ लाखको क्षति

शनिबार, ०८ भदौ २०८१
विराटनगर : मोरङको उर्लाबारीमा कपडा पसलमा आगलागी भएको छ । आगलागीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनसार उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए । कपडा पसलको बन्द सटरभित्र शनिबार बिहान १ बजेतिर आगलागी भएको उनको भनाइ छ । उनका अनुसार थापाको सत्कार किड्स एन्ड मोर कपडा पसलमा आगलागी भएको हो । आगोले पसलभित्र रहेका सबै कपडा जलेर ध्वस्त हुँदा २५ लाख मूल्य बराबरको क्षति भएको बस्नेतको भनाइ छ । उनका अनुसार आगोले छेउमै रहेको अर्को फलफूल पसलमा पनि सामान्य क्षति पुगेको छ । फूलमाया श्रेष्ठको फलफूल पसलमा २० हजार मूल्य बराबरको क्षति भएको जानकारी प्रहरीले दिएको छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुलिसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंकामा छ । अनुसन्धानपछि आगलागीको कारण खुल्ने बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार