भाटभटेनीका सुरक्षा गार्डले गौरवसाथ भने : २२ वर्ष जागिर खाएर सन्तान पढाएँ, घर गाडी जोडेँ

बुधबार, २० चैत्र २०८१
काठमाडौँ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भयो । घटनामा ७० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बताएका छन् । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको योगदानका लागि आज भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गर्‍यो ।
सम्मानपछि पराजुलीलाई केही बोल्न आग्रह गरियो । सम्भवतः पहिलोपल्ट यसरी माइकमा सम्बोधन गरेका पराजुलीले केही लजाउँदै आफ्नो भनाइ राखे । उनले २२ वर्षदेखि भाटभटेनीमा जागिर खाएको र घर–गाडी जोडेको सुनाउँदा कार्यक्रमका सहभागीले हौसलामा ताली बजाएका थिए । पराजुलीको भनाइ: मैले जागिर खाएको २०५८ सालदेखि हो । यही जागिर खाएर जग्गा किनेँ, घर बनाएँ, त्यसपछि छोरा पढाएँ, छोराको बिहे गरेँ, गाडी किनेँ । त्यो दिनको बारेमा: त्यो दिन आतङ्ककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनुपर्‍यो भनेर साइड लागेर बस्यौँ । हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले । फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबै जना टिम मिलेर यता आयौँ । अरू भित्रबाट लखेट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै भए पनि डर लागेन । धन्यवाद ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार