सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

शुक्रबार, २२ चैत्र २०८१
काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन  सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन्। सभामुख नेतृत्वको टोली शुक्रवार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्वेकिस्तान गएका हुन् । प्रतिनिधिमण्डलमा सङ्घीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जना शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् । अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । अन्तर व्यवस्थापिका सङ्घको सभामा सभामुख घिमिरेले “सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू” विषयमा सम्बोधन गर्नेछन् । सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तर व्यवस्थापिका सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुनेछन् । सांसद अञ्जना शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छन् । साथै, सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ। सम्मेलनसँगै सञ्चालन हुने सांसदका महासचिवहरूको बैठकहरूमा सङ्घीय सांसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् । सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा  “बन्दुङ आत्माको ७० वर्षको सम्झना ः बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसद्हरूको भूमिका” विषयमा मन्तव्य दिनेछन् । उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार