काठमाडौँ । राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुक्रवार समुद्घाटन गरिएको छ । शुक्रवार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो ।
उक्त सेवा कार्यक्रमको समुद्घाटनमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीयहरूको धेरै ठुलो भूमिका रहने बताएका छन् ।
उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरू उपचार सेवा लिनको निम्ति यहाँ आउने स्थिति बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवाबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीयहरूको धेरै ठुलो भूमिका रहन्छ । स्थानीयहरूको साथ सहयोगले नै आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास हुने भएकाले म त्यसको निम्ति सबैलाई अपिल समेत गर्न चाहन्छु । यो हाम्रो क्षेत्रमा, हाम्रो ठाउँमा यो बनेको छ । यसलाई चाहिँ नेपालकै पञ्चकर्मको केन्द्र अथवा पर्यटकहरू उपचार सेवा लिनको निम्ति यहाँ आउने स्थिति बनाउनका निम्ति हामी सबैले प्रयत्न गर्न जरुरी छ ।’
यसैगरी उनले उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको बताए । उनले बिरामी बढाउने नभई बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत कामहरू गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘खास गरी बिरामी भएपछि उपचार कसरी गर्ने भन्ने बारेमा हामीले केही हदसम्म बहस गरिरहेका छौँ । केही उपलब्धिहरू पनि भएका छन् तर त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन । यसरी नै बिरामीको सङ्ख्या बढ्ने हो भने हामीले बिरामीहरूको उपचार गर्ने विषयलाई पूर्णतातिर होइन,अझ अपुग हुने स्थिति बन्छ । हामीले बिरामी बढाउने होइन, बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत कामहरू गर्न जरुरी छ । हामीले निरोगी नेपाली अथवा नेपालीलाई रोग लाग्न नदिन के के उपाय अपनाउन सकिन्छ त्यसको लागि स्वास्थ्य मन्त्रालय कोसिस गरिरहेको अवस्था छ ।’
प्रतिक्रिया