इटहरीको पाथीभरा मन्दिरमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति

शनिबार, २३ चैत्र २०८१
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–०२ वरगाछीस्थित पाथीभरा माताको मन्दिरमा शनिबार बिहान आगलागी भएको छ। गोपाल परियारको घरआँगनको उत्तरपट्टि रहेको मन्दिरमा बिहान करिब ४ः१५ बजे अचानक आगो लाग्दा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय गोपाल परियारले सञ्चालन गर्दै आएको एकतले मन्दिरमा बालेको दियोबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीअन्तर्गत प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक टिका प्रसाद नेपालको नेतृत्वमा टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। करिब ३० मिनेटको प्रयासपछि बिहान ४ः४५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। आगलागीका कारण मन्दिरको भवन आंशिक रूपमा क्षति भएको छ भने मन्दिरभित्र रहेको झन्डै २ तोला सुन, १.५ किलो चाँदी, नगद एक लाख रुपैयाँ, मूर्तिहरू र अन्य सरसामान जलेर नष्ट भएका छन्। घरधनी परियारका अनुसार कुल क्षतिको अनुमान करिब ९ लाख रुपैयाँ बराबरको रहेको छ। प्रहरीका अनुसार मन्दिर रहेको स्थान प्रहरी चौकी तरहराबाट करिब २ किलोमिटर पूर्वदक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार