धरान : धरान–८ मा रहेको प्रसिद्ध शनि मन्दिरमा शनिबार भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।
शनि ग्रह र अन्य ग्रहदशा शान्त हुने विश्वासले प्रेरित भएर धरान मात्र नभई आसपासका विभिन्न स्थानहरूबाट पनि श्रद्धालुहरू यहाँ पुजाका लागि आएका थिए।
नयाँ वर्षदेखि सबै कुरा राम्रो होस् र ग्रहदशा शान्त होस् भन्ने कामनाका साथ बिराटचोकबाट आएकी लक्ष्मी थापाले चार घन्टा लामो लाइन बसेर पूजा गरेको बताइन्। त्यस्तै, बराहक्षेत्र नगरपालिकाबाट आएकी सान्तुकी राईले पनि शनि ग्रह शान्त हुने विश्वासले पाँच घन्टा लाइन बसेर पूजा गरेको जनाइन्।
शनि मन्दिर समितिकी सदस्य इन्दिरा काफ्लेले बिहानदेखि दिउँसो १२ बजेसम्म झण्डै सात हजार भक्तजनहरूले पूजा गरिसकेको र भक्तजनहरूको आगमन जारी रहेकाले आज दिनभरमा दश हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको बताइन्।
प्रतिक्रिया